रास्वपा सांसद डोलप्रसाद अर्यालले आफ्ना सभापति रवि लामिछानेलाई झुटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेकाे बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्यालले सरकारले लामिछानेसँग प्रतिशोध साधेको दाबी गरे। सरकारको उक्त रवैयालाई सार्वभौम संसद्ले समेत समर्थन गरेको उनको भनाइ छ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साध्यो–साध्यो । सार्वभौम संसद्ले समेत सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ। एउटा व्यक्ति जो चौथो ठुलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्नेछ। झुटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन् । सरकारको यस्तो रवैयालाई सार्वभौम संसद्ले समर्थन नगरोस्,’ उनले भने।
सांसद अर्यालले थुनामा नरहेको अवस्थामा निलम्बन नहुने व्यवस्था कार्यान्वयन गर्समेत सभामुखसँग माग गरे। उनले भने, ‘थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गर्न म सम्माननीय सभामुख महोदयसँग माग गर्दछु।’