एन्फा वरिष्ठ उपाध्यक्षमाथि कारबाही माग

शुक्रबार, २५ माघ, २०८१
डिजिटल संस्करण

१० वटा ‘सी’ डिभिजन क्लबले नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई कारबाही गर्नुपर्ने माग राखेका छन् । गत जेठमा भएको सहिद स्मारक ‘सी’ डिभिजन लिगमा म्याच फिक्सिङबारे अभिव्यक्ति दिएको भन्दै ती क्लबका अध्यक्षले बिहीबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई निवेदन दिएका हुन् । खड्काको अभिव्यक्तिपछि एएफसी र फिफाले समेत म्याच फिक्सिङबारे चासो राखेका छन् ।

‘सी’ डिभिजनका महावीर, खालीबारी युवा फुटबल, झम्सीखेल युथ, स्वयम्भू, मनोहरा युनाइटेड, पुल्चोक स्पोर्टस्, स्पोर्टस् एकेडेमी साँगा, समाज कल्याण खेलकुद केन्द्र, सानेपा र सामाजिक युथका अध्यक्षले वरिष्ठ उपाध्यक्ष खड्कालाई कारबाही गर्न माग राखेका हुन् ।

खालीबारीका सञ्जीव पाण्डे, पुल्चोकका रवीन्द्र जोशी, सामाजिकका नवीन महर्जन एन्फाका कर्मचारी हुन् । एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा झम्सीखेलका प्रतिनिधि हुन् । ‘उपाध्यक्ष खड्काको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । ‘सी’ डिभिजन खेल्ने क्लबको गरिमामा असर परेको छ,’ पत्रमा भनिएको छ । गत जेठमा भएको ‘सी’ डिभिजन लिगमा १४ क्लबले भाग लिएका थिए । सर्लाहीको बागमती क्लबले उपाधि जितेको थियो । 

अध्यक्ष र महासचिवविरुद्ध बोल्दा कारबाही
एन्फा उपाध्यक्ष दावा लामाको खैरो हेरोइन प्रकरणमा अभिव्यक्ति दिँदा अध्यक्ष नेम्वाङ र महासचिव किरण राईले आफूमाथि उल्टो आरोप लगाएको दाबी खड्काले गरेका छन् । ‘लिग गरौँ वा अर्ली इलेक्सन गरौँ भनेको थिएँ । उपाध्यक्ष दावाको खैरो हेरोइन प्रकरणलाई खेलकुद मन्त्रालय र राखेपसम्म पु¥याएँ,’ खड्काले भने, ‘अध्यक्ष र महासचिवविरुद्ध बोल्दा अहिले कारबाही गर्ने षड्यन्त्र भइरहेको छ ।’

खैरो हेरोइन काण्डमा दोषी ठहर भएपछि एन्फा उपाध्यक्ष लामालाई पाँच हजार जरिवानासहित पाँच वर्ष थुनाको सजाय भएको छ । ‘खैरो हेरोइनमा काण्डमा परेका व्यक्ति उपाध्यक्षमा बस्न मिल्दैन भनेको थिएँ, त्यसैको प्रतिशोध हो,’ खड्काले भने । 

अध्यक्ष र महासचिवले प्रहार गरे
वीरबहादुर खड्का, वरिष्ठ उपाध्यक्ष, एन्फा

राखेप र मन्त्रालयमा उपाध्यक्ष दावा लामाको खैरो हेराइन प्रकरण पु¥याएपछि अध्यक्ष र महासचिवले प्रतिशोध साध्ने प्रयास गरिरहेका छन् । ‘सी’ डिभिजन लिगमा म्याच फिक्सिङ भएको गुनासो आएपछि बोलेको हुँ । नेम्वाङ र राईले ‘सी’ डिभिजन लिग हेर्दै हेरेनन् । यही विषयमा खेलकुद मन्त्रालय, राखेप र फिफामा फेरि जान्छु ।

सुझावित समाचार