इन्टरनेटको एडिक्सन र ‘बुलिङ’को समस्या आगामी दिनमा विपतकै रूपमा आउन सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। रोटरी क्लब अफ काठमाडौं र आइएसएसआरको सहकार्यमा बुधबार दरबारमार्गमा आयोजित ‘सामाजिक सञ्जाल र यसका चुनौती’ विषयक अन्तर्क्रियाका वक्ताहरूले इन्टरनेट एडिक्सनबारे चिन्ता प्रकट गरेका हुन्।
सामाजिक सञ्जालको प्रयोगबाट भइरहेका विभिन्न किसिमका सामाजिक, मानसिक, आर्थिकलगायत आपराधिक गतिविधिको अवस्था हेर्दा सामाजिक विपतकै रूपमा यो समस्या बढ्न सक्ने विज्ञहरूको भनाइ थियो। कार्यक्रमका वक्ताहरूले मानसिक स्वास्थ्यमा साइबर बुलिङ र इन्टरनेट लतको प्रभावले कसरी प्रभाव पार्छ भन्ने विषयमा चर्चा गरेका थिए।
कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने, ‘सामाजिक सञ्जाललाई जिम्मेवार र सुरक्षित तरिकाले प्रयोग गर्नुबाहेक हामीसँग विकल्प छैन । यसमा हाम्रो ध्यान जान जरुरी छ ।’ सामाजिक सञ्जालको प्रयोगले मानसिक सामाजिकलगायत मानिसहरूको बहुआयामिक क्षेत्रमा असर गरिरहेको श्रेष्ठको भनाइ थियो।
पूर्वमुख्यसचिव शंकर वैरागीले अहिलेको युगमा सामाजिक सञ्जालको प्रयोग अत्यावश्यक भए तापनि बुद्धिमत्तापूर्ण ढंगले प्रयोग गर्न जरुरी रहेको औँल्याए। यसको प्रयोगका लागि कानुन बन्नुपर्नेमा समस्या आएपछि मात्रै कानुन बनाउने परम्पराका कारण दुरुपयोग भइरहेको उनको बुझाइ छ।
कार्यक्रममा प्रस्तुतीकरण दिएका मनोरोग विशेषज्ञ डा. प्रदीप पाण्डेले हेर्दा सामान्य लागे पनि मोबाइल र इन्टरनेटको लत बच्चादेखि वृद्धसम्म सबैमा रहेको उल्लेख गरे। पाण्डेका अनुसार १० देखि ५० प्रतिशत मानिसहरूमा मोबाइलको लत छ । डिप्रेसन, एन्जाइटीजस्ता मानसिक समस्याको प्रमुख कारण मोबाइल तथा इन्टरनेटको अधिक प्रयोग नै रहेको उनको भनाइ छ।
नेपाल प्रहरीको साइबर ब्युरोका डिएसपी उमेशप्रसाद साहले विभिन्न सामाजिक सञ्जालको दुरुपयोगका कारण साइबर अपराधका घटना दिन प्रतिदिन बढिरहेको बताए। साहका अनुसार सामाजिक सञ्जालमा पनि सबैभन्दा धेरै फेसबुकको दुरुपयोग भइरहेको छ । अहिले नेपालमा ३७ लाख ४७ हजारको हातमा मोबाइल छ, जसमध्ये आधाभन्दा धेरैले फेसबुक चलाउँछन् । फेसबुकबाट मात्रै एक मिनेटमा दुई लाख ४३ हजार फोटो अपलोड हुने गरेको तथ्यांक प्रस्तुत गर्दै साहले यो क्रियाकलापमा बढीजसो १० देखि १२ कक्षामा पढ्ने किशोरकिशोरीहरू रहेका बताए।
फेसबुक तथा म्यासेन्जरकै माध्यमबाट यौन शोषण, सामूहिक बलात्कारदेखि किशोरी बेचबिखनसम्मका घटना भएको उदाहरण दिँदै डिएसपी साहले साइबर क्राइमबारे कानुन नबन्दा अझ समस्या हुने गरेको बताए। उनले भने, ‘०६३ सालको विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार काम गर्नुपरेको छ, तर अहिलेसम्म त्यो दफाअनुसार हुने भनिएको सजाय कसैमाथि भएको छैन।’
आइटी विशेषज्ञ अश्विनी भट्टराईले कतिपय किशोरकिशोरीहरू जानी–नजानी बुलिङको सिकार भइरहेकाले सामाजिक सञ्जाल चलाउँदा सचेत हुनुपर्ने बताइन्। उनले साइबर क्राइमसम्बन्धी शिक्षा पाठ्यक्रममै समावेश गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘फ्री वाइफाई चलाउँदा, आफ्नो परिचयपत्र खुल्ने कागजातहरू कुन ठाउँमा कसरी प्रयोग गर्ने भन्ने विषयको जानकारी हुनुपर्छ। अभिभावकले पनि आफ्ना बालबालिकाहरूलाई कुन उमेरमा कस्तो डिभाइसहरू चलाउन दिने भन्ने विषयको जानकारी राख्न आवश्यक छ।’
यसैगरी, अधिवक्ता रामचन्द्र गौतम (आरसी)ले साइबर अपराधमा संलग्नलाई कारबाहीको पाटोमा कानुन चुकेको बताए। यसबारे जनचेतना फैलाउन आवश्यक रहेको उनले बताए।