सिद्धार्थ हस्पिटालिटीको ‘भिजन २०३०’

बिहिबार, २४ माघ, २०८१
डिजिटल संस्करण

सिद्धार्थ हस्पिटालिटी ग्रुपले २७औँ वर्षमा प्रवेश गरेको अवसर पारेर ‘भिजन २०३०’ सार्वजनिक गरेको छ । सन् २०३० सम्म स्वदेश तथा विदेशमा समेत गरी ५८ वटा सानाठुला होटेल तथा रेस्टुरेन्ट सञ्चालन गर्ने योजना बनाएको ग्रुपका सिइओ कृष्ण न्यौपानेले बताए ।

सन् १९९८ मा कैलालीको टीकापुरमा सामान्य होटेलबाट सुरु भएको कम्पनीको यात्रा यतिवेला देशभर फैलिएको छ । सिइओ न्यौपानेले देशको पर्यटन प्रवद्र्धन गर्दै सिद्धार्थ हस्पिटालिटीलाई विश्वव्यापी बनाउने योजनासाथ ‘भिजन २०३०’ मा काम गरिरहेको बताए । उनले भने, ‘हामी भारतमा होटेल सञ्चालनको तयारी गरिरहेका छौँ, त्यसपछि अन्य देशमा पनि सेवा विस्तार गर्ने योजना छ ।’

सिद्धार्थ हस्पिटालिटी नेपालको आतिथ्यता क्षेत्रमा अग्रणीमध्येमा पर्छ । सिद्धार्थले चाँडै भारतमा सेवा विस्तार गर्न लागेको सिइओ न्यौपानेले बताए । धनगढीमा पाँचतारे होटेल सञ्चालनको योजना पनि अगाडि बढाइएको छ । सिद्धार्थ ग्रुपको भैरहवामा पाँचतारे सिद्धार्थ भिलासा सञ्चालनमा आइसकेको छ । इलाममा लग्जरी रिसोर्ट सञ्चालनको योजना छ ।

हाल सिद्धार्थका विभिन्न आउटलेटमा २५ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । पाँचतारेस्तरमा सिद्धार्थ भिलासा, चारतारेस्तरमा सिद्धार्थ वैभव, तीनतारेस्तरमा सिद्धार्थ वाटिका ब्रान्डमा होटेल सञ्चालनमा छन् । ग्रुपले पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म सेवा प्रवाह गर्दै आएको छ । सिद्धार्थले आफ्नै लगानीमा होटेल सञ्चालनदेखि अरूको लगानीका होटेल व्यवस्थापन गरिरहेको छ ।

सुझावित समाचार