सञ्चालनमा आएको दुई वर्ष बितिसक्दा पनि धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा विशेषज्ञ सेवा सुरु हुन सकेको छैन । जनशक्तिको अभावले न्यून संख्याका शय्याबाट सेवा दिइएको छ ।
संघ सरकारले ३२ करोड लागतमा निर्माण गरेको भवनमा सुदूरपश्चिम सरकारले ५० शय्याको चिकित्सालय सञ्चालनमा ल्याएको छ । तर, विशेषज्ञ चिकित्सकको अभावका कारण हाल १० शय्यामा मात्र सेवा प्रदान भइरहेको छ ।
चिकित्सालयका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रामकामेश्वर ठाकुरका अनुसार विशेषज्ञ जनशक्तिको अभावका कारण सामान्य सेवा मात्र उपलब्ध गराइँदै आएको छ । ‘अहिले हामी सामान्य सेवा दिइरहेका छौँ । तर, विशेषज्ञ जनशक्ति नहुँदा विशेषज्ञ सेवा दिन सकेका छैनौँ । सेवा विस्तार गर्न प्रदेश सरकारसँग थप जनशक्ति माग गरेका छौँ,’ उनले भने ।
५० शय्याको चिकित्सालय सञ्चालन गर्न ११औँ तहको एकजना निर्देशक, ६ जना कन्सल्टेन्ट चिकित्सक, नौजना चिकित्सकसहित ११४ जनाको दरबन्दी माग गरिएको ठाकुरले बताए । चिकित्सालयमा हाल २१ जना कर्मचारी मात्र कार्यरत छन् ।
चिकित्सालय सुरु गर्दा एकजना मेडिकल सुपरिटेन्डेन्ट, एकजना कन्सल्टेन्ट, चारजना चिकित्सकसहित २७ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको थियो । त्यसमध्ये कन्सल्टेन्टको दरबन्दी रिक्त छ । त्यस्तै, चारमध्ये एकजना चिकित्सक छैनन् । ‘स्वीकृत अस्थायी दरबन्दी संख्या नै कम हो, त्यसमा पनि ६ जना चिकित्सकीय जनशक्ति रिक्त छ,’ मेडिकल सुपरिटेन्डेन्ट ठाकुरले भने, ‘प्रदेश सरकारले जनशक्ति थप गरे धेरैजसो विशेषज्ञ सेवा यहीँ उपलब्ध गराउन सकिन्छ ।’
चिकित्सालयमा जनशक्ति र साधन–स्रोतको अभावका कारण यहाँका नागरिकले आयुर्वेदिक पद्धतिबाट विशेषज्ञ उपचार सेवा पाउन सकेका छैनन् । चिकित्सालयको सेवा प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिएको छैन ।
चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष नरेश विष्टले जनशक्तिका लागि पटकपटक पहल गरे पनि प्रदेश सरकारबाट सुनुवाइ नभएको बताए । चिकित्सालयमा विज्ञ चिकित्सक र उपकरणको अभावले सेवा प्रभावकारी हुन नसकेको उनले बताए ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता गणेशबहादुर सिंहले प्रादेशिक आयुर्वेदिक चिकित्सालयको कर्मचारी संगठन संरचना स्वीकृतिको प्रक्रिया अगाडि बढेको बताए । ‘त्यो स्वीकृत भएपछि कर्मचारी पदपूर्ति कार्य अगाडि बढ्छ,’ उनले भने ।
मेडिकल सुपरिटेन्डेन्ट ठाकुरका अनुसार पञ्चकर्म, पूर्वकर्म, थेरापी, जलौका कर्म, क्षारसूत्र, कटीबस्ती, जानुबस्तीसम्बन्धी सामान्य सेवाहरू चिकित्सालयमा उपलब्ध छन् । आयुर्वेदिक पद्धतिबाट उपचार प्रभावकारी मानिने पायल्स, फिस्टुला, फिसरको उपचार सेवा पनि दिइरहेको उनले बताए । एक्सरे, भिडियो एक्सरे, इसिजीसहितको प्रयोगशाला सेवा चिकित्सालयमा छ । चिकित्सालयमा आधारभूत सेवा र कतिपय औषधि निःशुल्क छन् । प्रयोगशाला शुल्क पनि तुलनात्मक रूपमा सस्तो छ ।
धनगढीका सरकारी र निजी अस्पताल तथा क्लिनिकहरूमा बिरामीको चाप थेगिनसक्नु हुँदा प्राकृतिक पद्धतिबाट निःशुल्क र सस्तोमा उपचार हुने चिकित्सालय पुग्ने सेवाग्राही भने न्यून छन् । विशेषज्ञ सेवा नहुनु र प्रचारप्रसारको अभावले चिकित्सालयबाट सेवा लिनेको संख्या कम भएको बताइन्छ । यहाँबाट गत वर्ष सेवाग्राहीले दोहोर्याएरसमेत गरी करिब २६ हजारपटक सेवा लिएको तथ्यांक छ ।
बिदाको दिन बन्द हुँदैन सेवा
चिकित्सालयले जनशक्ति अभावले विशेषज्ञ सेवा दिन नसके पनि उपलब्ध सेवा भने सार्वजनिक बिदाको दिनसमेत दिने गरेको छ । शनिबारसहित सार्वजनिक बिदाको दिन नागरिकले बिहान १० देखि दिउँसो १ बजेसम्म चिकित्सालयमा उपचार सेवा पाउँछन् ।
मेडिकल सुपरिटेन्डेन्ट ठाकुरले नियमित गर्नुपर्ने कतिपय उपचार एक दिन छुट्दा पनि बिरामीलाई असर पर्ने भएकाले सेवा अटुट राख्ने व्यवस्था गरिएको बताए । टाढाबाट आउने बिरामीलाई सहज होस् भनेर पनि बिदाको दिनसमेत सेवा दिने गरिएको उनले बताए ।
सार्वजनिक बिदाको दिन पालो मिलाएर कर्मचारीले सेवा दिने गरेका छन् । ‘कुनै बिरामीको लगातार उपचार गर्नुपर्ने हुन्छ । बिदाको दिन उपचार नपाउने अवस्था नहोस् र बिरामीले दुःख नपाउन् भनेर सेवा अटुट राखेका हौँ,’ ठाकुरले भने, ‘टाढाबाट आएका बिरामी बिदा पर्दा कुरेर बस्नु नपरोस् भन्ने पनि हो ।’