असन्तुष्ट स्वर समयमै सुन्दैन सिंहदरबार

बुधबार, २३ माघ, २०८१
डिजिटल संस्करण
  • महिना दिनयता मात्रै माइतीघरमा विरोधका ११३ कार्यक्रम, पाथीभरामा ‘नो केबलकार’ आन्दोलन गृह मन्त्रालयमा सहमतिपछि स्थगित

सरोकारवालाका चासो र मागप्रति राज्य जतिजति अनुदार हुन्छ, त्यति–त्यति असन्तुष्टि र आक्रोश सडकतिर पोखिन्छ । ठिक अहिले त्यस्तै अवस्था छ । झन्डै दुईतिहाइको सरकार छ 

र पर्खने धेरै समय नभएकाले अध्यादेशमार्फत कानुन ल्याउनुपरेको प्रधानमन्त्रीको दलिल छ । तर, यही वेला आन्दोलनको क्षेत्र र आन्दोलनरत तप्काको आकार फराकिलो हुँदै छ । 

काठमाडौंदेखि जिल्ला–जिल्लासम्म विभिन्न माग राखेर फरक–फरक आन्दोलन जारी छन् । माइतीघर मण्डलामा मात्रै एक महिनामा एक सयभन्दा धेरै विरोधका कार्यक्रम भएका छन् । विभिन्न मुद्दामा केही समुदाय र पेसाकर्मी निकट भविष्यमै आन्दोलनको तयारीमा छन् । जबकि यी कुनै राजनीतिक मुद्दा होइनन् । 

पछिल्लो सात दिनदेखि माइतीघरमा आवासीय चिकित्सकहरू आन्दोलनरत छन् । सरकारीसरह निर्वाह भत्ता तथा तलब दिनुपर्ने माग राख्दै पोस्ट ग्य्राजुएट (पिजी) अध्ययनरत चिकित्सक आन्दोलन गरिरहेका हुन् । निजी मेडिकल कलेजहरूले उचित पारिश्रमिक नदिएको र कम्तीमा ४८ हजार मासिक तलबभत्ता पुर्‍याउनुपर्ने उनीहरूको माग छ ।

मंगलबार चिकित्सकहरूले देशभरका निजी मेडिकल कलेजमा बिहान ९–११ बजेसम्म ओपिडी सेवा बन्द गरे भने दिउँसो १२ बजेदेखि एप्रोनसहित माइतीघरमा धर्नामा बसे । त्यस्तै, सोमबार उनीहरूले आफ्ना र्‍याली, धर्ना र पेनडाउन गरेका थिए । त्यस्तै, हरेक दिन उनीहरू माइतीघरमा भेला भएर धर्ना बस्ने गरेका छन् ।

दुई वर्षदेखि तलब वृद्धिको माग गर्दै आएका उनीहरूले पछिल्लो समय सुरक्षित कार्यस्थल संघर्ष समिति बनाएर सरकारी र निजी मेडिकल कलेजमाथि दबाब दिँदै आइरहेको आन्दोलनको नेतृत्व गरिरहेका डा. शेषराज घिमिरेले बताए । ‘हाम्रो आन्दोलन निरन्तर जारी छ, अझ कडा रूपमा प्रस्तुत हुँदै जान्छौँ, हामीमाथि अन्याय भइरहेको छ,’ उनले भने ।

मोहियानी हक मागेर दाङका युवाहरू आन्दोलनमा 
मोहियानी हकको उपयोग गर्न नपाएको भन्दै दाङका युवाहरू माइतीघरमा आन्दोलनमा छन् । यसको नेतृत्व दाङ घोराही उमनपा–१४, झिँगौराका प्रवीण दलित चौधरीले गरेका छन् र उनलाई अरू ३८ युवाको साथ छ । तीन पुस्तासम्म मोहियानी हक नपाएको भन्दै नाति पुस्ता आन्दोलनमा छ । 

प्रत्येक दिनको बिहान ठिक १० बजे प्रवीणको समूह हलो, जुवा, कुटो, कोदालो, घुम, ढाकीसहितका कृषि औजार लिएर माइतीघर मण्डला पुग्छ । सडकमा ब्यानर टाँग्छ । कृषि औजार सडकमा फिँजाउँछ । र, प्लेकार्ड बोकेर धर्नामा बस्छ । २० माघदेखि चलेको धर्ना कहाँ पुगेर टुंगिन्छ, कसैलाई थाहा छैन । 

दाङको घोराहीमा प्युठानस्थित स्वर्गद्वारी गुठीको १ हजार ५० बिघा जमिन छ । जसमध्ये ७५३ बिघा जमिनमा मोही कायम भएको छ । सोही जग्गामा तीन पुस्तादेखि आश्रित छन्, घोराही उपमहानगरपालिका र लमही नगरपालिकाका तीन हजार ५ घरधुरी । तर, हालसम्म पनि लालपुर्जा नहुँदा सबै स्थानीय सुकुमवासीसरह भएका छन् ।

धर्नास्थलमा भेटिएका प्रवीणले भने, ‘हाम्रो माग ठुलो छैन । तीन पुस्तादेखि भोगचलन गरेको गुठीको जग्गाबाट मोहियानी हक प्राप्त होस्, हाम्रो नाममा लालपुर्जा जारी होस् भन्ने हो । कानुनले समेत व्यवस्था गरेको छ । तर, सरकारले वर्षौँसम्म सम्बोधन गरेन ।’ 

भूमिसम्बन्धी ऐन, ०२१ का दफा २६ मा मोही र जग्गाधनीले हिस्सा छुट्याई लिन पाउने भनी उल्लेख गरिएको छ । ‘जग्गाधनी र मोही दुवैथरी आपसमा मन्जुर हुन नसके जग्गाधनी वा मोहीमध्ये कुनै एक पक्षले निवेदन दिएमा तोकिएको अधिकारीले जग्गाधनी र मोही झिकाई आवश्यक प्रमाण बुझ्नुपर्ने भएमा बुझी नरमकरम मिलाई जग्गाधनी र मोहीलाई आधा–आधा हुने गरी जग्गा बाँडफाँट गरी मोहीलगतसमेत कट्टा गरिदिनुपर्नेछ,’ उक्त दफामा भनिएको छ । त्यस्तै, गुठी संस्थान ऐन, ०३३ को दफा २६ मा तोकिएको रकम गुठी संस्थानलाई बुझाएर मोहीले गुठी रैतानी नम्बरीमा परिणत गर्न सक्ने भनी उल्लेख छ । 

विभेद हटाउने आदेश कार्यान्वयन गराउन ब्रिटिस गोर्खा भूतपूर्व सैनिक आन्दोलनमा 
ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) पनि १० दिनदेखि माइतीघर मण्डलामै आन्दोलनरत छ । सर्वोच्च अदालतले २४ माघ ०७९ मै बेलायतद्वारा सिंगापुरमा पठाइएका सिंगापुर पुलिस फोर्सका नेपालीमाथि भएको विभेद हटाउनका लागि पहल गर्न भन्दै सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । उक्त आदेश कार्यान्वयन नभएपछि उनीहरू दुई वर्षदेखि आन्दोलनरत छन् । माइतीघर मण्डलामा १० दिनदेखि जारी विगतदेखिको सोही आन्दोलनको निरन्तर रूप हो । 

धर्नामा भेटिएका बिगेसोका उपाध्यक्ष मनीकुमार सुनुवारले अदालतको आदेश कार्यान्वयन नभएपछि आन्दोलन गर्नुपरेको बताए । ‘सिंगापुर पुलिसमा नेपाली युवा सन् १९४७ को नोभेम्बर ९ मा नेपाल, भारत र संयुक्त अधिराज्यबिच भएको त्रिपक्षीय सम्झौताअनुसार भर्ती भइरहेका छन् । तर, यसरी भर्ती भएका पुलिसमाथि चरम अन्याय, विभेद र असमानता छ,’ सुनुवारले भने, ‘विरोधमा हामीले आन्दोलन गर्‍यौँ । अदालतमा मुद्दा हाल्यौँ । अदालतले सरकारलाई निर्देशनात्मक आदेश दियो । तर, कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिनुपर्‍यो ।’

ख्रिस्टियन आयोगको माग राखेर इसाई समुदाय आन्दोलनमा    
इसाई धर्मावलम्बी पनि ब्यानर लिएर माइतीघर मण्डलामै विरोधमा उत्रिएका छन् । उनीहरूको ब्यानर सडकमा टाँगिएको देखिन्छ । तर, आन्दोलनकर्मी भने सडकमा देखिन्नन् । उनीहरूको माग  छ, ‘राष्ट्रिय ख्रिस्टियन आयोग गठन हुनुपर्छ ।’

पाथीभरा केबलकार निर्माण तत्कालका लागि स्थगन, आन्दोलन पनि स्थगित
ताप्लेजुङको  मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणको काम तत्कालका लागि स्थगन गर्ने सहमति जुटेको छ । योसँगै १२ माघदेखि आन्दोलनरत पक्षले पनि आन्दोलन स्थगित गरेको छ । 

गृह मन्त्रालयले गठन गरेको सरकारी वार्ता टोली र मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिसहितका समूहबिच मंगलबार राति भएको ६ बुँदे सहमतिअनुसार कोशीमा अनिश्चितकालीन यातायात बन्दको आन्दोलन पनि स्थगित भएको छ ।

सरकारी वार्ता टोलीका संयोजक, सहसचिव प्रेमप्रसाद भट्टराईका अनुसार केबलकार निर्माणको काम तत्कालका लागि स्थगन हुनेछ । तर, आन्दोलनरत पक्षले केबलकार निर्माण गर्न नै नहुने राखेको अडानका बारेमा भने २७ माघमा पुनः वार्ता गरेर टुंग्याइनेछ । 

सहमतिअनुसार १२ माघ र त्यसपछि आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी उपचार सरकारले गर्ने भएको छ । १२ माघमा भएको झडप र प्रहरीको बल प्रयोगबाट तीनजना गम्भीर घाइते भएका थिए । योे घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमति बुँदा नम्बर ३ मा उल्लेख छ ।

त्यस्तै, आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई विनासर्त तत्काल रिहाइको प्रक्रिया सुरु गर्ने सहमति पनि भएको छ । मुक्कुम्लुङ संरक्षण पक्षबाट वार्तामा सहभागी सरस्वती सिङ्गक(सरु) ले सहमतिअनुसार यातायात बन्द स्थगित गरिएको बताइन् ।
 

सुझावित समाचार