५९९ सवारीसाधान प्रदुषण परीक्षण गर्दा ३४५ वटा फेल

सोमबार, २१ माघ, २०८१
डिजिटल संस्करण

काठमाडाैंकाे सडकमा गुडिरहेका ५९९ वटा सवारीसाधनको प्रदुषण परीक्षण गर्दा ३४५ वटाले धुँवा उत्सर्जन मापदण्ड पालना नगरेको फेला परेको छ । काठमाडौं महानगरपालिकाले केही समययता गर्दै आएको परीक्षणमा ५८ प्रतिशत सवारीसाधन धुँवा उत्सर्जनमा फेल भएका हुन् । 

परीक्षण गरिएका पेट्रोलबाट चल्ने १४८ वटा सवारी साधनमध्ये २३ वटा फेल भएका छन् । डिजेलबाट चल्ने ४५१ मध्ये ३२२ वटा फेल भेटिएका हुन् । यसरी हेर्दा पेट्रोलका सवारी साधनभन्दा डिजेलबाट चल्ने धेरै सवारीसाधन मापदण्ड विपरीत छन् ।  

सवारी साधनबाट वायु प्रदुषणमा पार्ने असर घटाउन महानगरपालिकाले सडकमा आकस्मिक चेकजाँच गरिरहेको छ । यस क्रममा फेल भएका सवारी साधनलाई मर्मत गरेर मापदण्डअनुसार सञ्चालन गर्न सुझाव दिइएको छ । प्रदुषण नियन्त्रणका लागि २९ पुसदेखि थालिएको सचेतनात्मक कार्यक्रम नियमित चलिरहेको छ । यस कार्यक्रमबाट सुधारको मौका दिँदा पनि मापदण्ड पूरा गररे क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मको महानगरको तयारी छ ।  

अहिलेसम्ममा कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरवारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण भएको छ । परीक्षणमा फेल हुने सवारी साधनमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कूल बस, सरकारी कार्यालयले सञ्चालन गरेको बोलेरो, सामान बोक्ने ट्रकलगायत छन् । 

परीक्षण मापदण्डबाहिर रहेका सवारी साधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र सञ्चालन गर्न कवुलियतनामा गराइएको छ ।

सवारी साधन चेकजाँचका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा गरेको छ ।

सुझावित समाचार