गएराति तामाकोशी नदीमा करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँले बोकेको ब्याट्री सर्ट भई करेन्ट लाग्दा घटनास्थलमा नै ज्यान गएको छ।
ज्यान गुमाउनेमा मन्थली नगरपालिका–८, चिसापानीका २१ वर्षीय सुरेश माझी रहेका छन्। उनी गएराति स्थानीय ६ जना साथीहरूसँग मिलेर तामाकोशी नदीमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्न गएका थिए। नदीभित्र पसेर करेन्ट लगाएर माछा मार्न खोज्दा उनी आफैँले बोकेको करेन्ट आफैँलाई लागेको थियो।
घटनापछि स्थानीयहरूले प्रहरीमा खबर गरेका थिए। प्रहरीको टोली घटनास्थलमा पुगी मृतक माझीको शव पोस्टमार्टमको लागि मन्थली अस्पतालमा ल्याएको छ। मृतक माझीसँगै माछा मार्न गएका अन्य ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए।
केही वर्षदेखि रामेछापको लिखु नदी, तामाकोशी नदी र सुनकोशी नदीमा रातको समयमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने क्रम बढेको छ। नदीमा करेन्ट लगाएर माछा मार्दा नदीमा आश्रय लिएर बस्ने अन्य जलचर सबै प्रजातिहरू मर्ने भएकाले करेन्ट लगाउनेहरूलाई स्थानीय प्रहरी प्रशासनले कुनै कारबाही नगरेको गुनासो स्थानीयहरूले गर्दै आएका छन्। करेन्ट लगाएर माछा मार्ने क्रम बढेसँगै नदीमा जाल हानेर माछा भेट्नै मुस्किल पर्ने गरेको छ।