इतिहासकै भयानक १० डढेलो

सोमबार, २१ माघ, २०८१
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघका अनुसार यो शताब्दीको अन्तसम्ममा आगलागीजन्य चरम घटनाहरूमा ५० प्रतिशतले वृद्धि हुँदै छ । डढेलोको प्रकोप बढ्नुमा जलवायु संकट र भूउपयोगमा आएको परिवर्तनलाई कारण मानिएको छ । केही दशकअघिको तुलनामा अहिले नै पश्चिम अमेरिका, उत्तरी साइबेरिया, मध्य भारत र पूर्वी अस्ट्रेलियालगायतका क्षेत्रमा उल्लेख्य आगलागीका घटना भएका छन् । यसले जैविक विविधता, पर्यावरण र मानव बस्तीमा जोखिम बढाएको छ । यस्ता छन्, इतिहासकै भयानक केही डढेलो :

१. लस एन्जलस डढेलो (७ जनवरी २०२५) : दुई सय वर्गकिलोमिटर 
क्यालिफोर्निया राज्यको लस एन्जलस काउन्टीका हस्र्ट, पालिसेड्स र इटोनमा ७ जनवरीबाट सुरु भएको डढेलो अझै निभेको छैन । मानव बसोबासको ठुलो क्षेत्रलाई चपेटामा लिएको यो डढेलो नियन्त्रण लिन अमेरिकी सरकारले साढे सात हजारभन्दा धेरै अग्निशमनकर्ताका साथै ठुलो परिमाणमा स्रोतसाधन परिचालन गरेको छ । भरमग्दुर प्रयासका बाबजुद महाशक्ति अमेरिका यस प्राकृतिक प्रकोपसामु निरीह साबित भएको छ । हस्र्टमा फैलिएको डढेलो पूर्ण नियन्त्रण लिन सके पनि अन्य स्थानका डढेलो अझै काबुबाहिरै छन् । यहीबिच, गत बुधबार अर्थात् जनवरी २२ बाट ह्युसमा नयाँ डढेलो खतरनाक तहमा विस्तारित भइसकेको छ । तीव्र गतिको शान्ता एना हुरी र सुक्खा मौसमले यसमा इन्धन थपिरहेको छ । अहिलेसम्म डढेलोले १८ हजारभन्दा धेरै संरचनालाई खरानी बनाउनु साथै २८ जनाको ज्यान लिइसकेको छ । एक्युवेदरले यो डढेलोको क्षति २५० अर्ब डलरभन्दा धेरै हुन सक्ने प्रक्षेपण गरेको छ ।

२. अस्ट्रेलियन बसफायर (अस्ट्रेलिया– सन् २०१९/२०) : एक लाख ७० हजार वर्गकिमि
अस्ट्रेलियामा सन् २०२० मा सल्किएको ‘अस्ट्रेलियन बसफायर’ डढेलो वन्यजन्तुमा पारेको प्रभावका दृष्टिले अहिलेसम्मकै विनाशकारी रह्यो । यो डढेलोबारे अभिलेख राख्न थलिएको सन् १९१० यताको भयानक रूपले विनाशकारी डढेलो हो । यसले न्यु साउथ वेल्स र क्विन्सल्यान्डको एक लाख ७० हजार वर्ग किलोमिटरभन्दा धेरै भूभागलाई चपेटामा लिएको थियो, जसमा कम्तीमा ४५ जना मानिसका साथै तीन अर्बभन्दा बढी जीवजन्तु मारिनपुगे । तीमध्ये ६१ हजारभन्दा धेरै दुर्लभ स्तनधारी जीव ‘कोल’ थिए । कोल अस्ट्रेलियामा मात्रै पाइने मार्सुपियल (प्रजातिको भालुजस्तै देखिने, तर भालुभन्दा सानो आकारको रुखमा बस्ने शाकाहारी) जीव हो । यो डढेलोले कुल १४ करोड ३० लाख स्तनधारी जीव, १८ करोड १० लाख पक्षी, पाँच करोडभन्दा धेरै भ्यागुता र साढे दुई अर्बजति सरिसृपको ज्यान लिएको थियो । कम्तीमा ५० लाख त कंगारु (कंगारुजस्तै देखिने वालाविजसहित) मात्रै मरे । सन् २०१९ को अन्त्य र २०२० को सुरुवातको यो अवधिमा अस्टे«लियाले तापक्रमको रेकर्ड राख्न थालेयताकै तातो र सुक्खाको सामना गरेको थियो ।

३. नर्थवेस्ट टेरिटोरिज फायर्स (क्यानडा– सन् २०१४) : ३४ हजार चार सय वर्गकिलोमिटर
सन् २०१४ को गर्मीयाममा क्यानडाको उत्तरपूर्वी इलाकामा १५० भन्दा धेरै डढेलो लागेको थियो, जसमध्ये १३ वटा मान्छेले सल्काएका डढेलो थिए । यसले ३४ हजार चार सय वर्ग किलोमिटर जंगल क्षेत्रलाई डढाएको थियो । यो डढेलो निभाउन क्यानडा सरकारले झन्डै ४ करोड अमेरिकी डलर खर्च गरेको थियो । यहाँबाट निस्किएको धुवाँको असर पश्चिम युरोपको देश पोर्चुगलसम्म पनि महसुस गरिएको थियो । 

४.बोलिभिया फरेस्ट फायर्स (दक्षिण अमेरिका– सन् २०१०) : १५ हजार वर्गकिलोमिटर    
सन् २०१० को अगस्ट महिनामा बोलिभियाभर २५ हजारभन्दा धेरै डढेलोका घटना भए । यो डढेलोले बोलिभियाको अमेजन जंगलको भागको करिब १५ हजार वर्ग किलोमिटरमा विशेष रूपले क्षति ग¥र्यो । यहाँ निस्किएको बाक्लो धुवाँका कारण त्यहाँको सरकारले उडान स्थगित गर्नुका साथै आपत्कालकै घोषणा गर्नुप¥यो । सुक्खा मौसममा खेतबारीमा बालीका अवशेष डढाउने क्रमबाट डढेलो सुरु भएको मानिएको छ ।

५.अलास्का फायर सिजन (अमेरिका– सन् २००४) : २६ हजार सात सय वर्गकिलोमिटर 
सन् २००४ मा सुक्खा मौसमका कारण बिजुली चम्किने घटना उत्कर्षमा पुग्दा अमेरिकाको पश्चिमोत्तर राज्य अलास्कामा कम्तीमा ७०१ वटा डढेलोका घटना दर्ज भएको थियो । अलास्का फायर सिजन नाम दिइएको यो डढेलोले २६ हजार सात सय वर्ग किलोमिटर भूभागलाई चपेटामा लिएको थियो । २१५ वटा आगलागी बिजुली चम्किँदा सुरु भएको थिए भने २२६ चाहिँ मानव सिर्जित थिए ।

६. साइबेरियन टाइगा फायर्स (रसिया– सन् २००३) : दुई लाख २२ हजार ५०० वर्गकिलोमिटर 
सन् २००३ को गर्मीयाममा पूर्वाेत्तर रुसी इलाका साइबेरियाको टाइगा जंगलमा लागेको डढेलोलाई डढेलोको इतिहासकै ठुलो डढेलो मानिन्छ । यो डढेलो दुई लाख २२ हजार पाँच सय वर्ग किलोमिटरभन्दा धेरै क्षेत्रफलमा फैलिएको थियो । रुसको सुदूर पूर्वाेत्तर इलाकाका साथै चीन र मंगोलियाको उत्तरी सीमा क्षेत्रको साइबेरियन इलाकामा फैलिएको यो डढेलो वातावरणीय विनाशका दृष्टिले पनि सबैभन्दा हानिकारक रह्यो । यहाँबाट उठेको बाक्लो धुवाँ हजारौँ किलोमिटर पर जापानको टोकियो सहरसम्म छाएको थियो । यसले ओजन तहलाई नै पातलो बनाइदियो, जुन अझै भरिएको छैन । 

७.ब्ल्याक ड्रागन फायर (सन् १९८७) : १० हजार वर्गकिलोमिटर 
‘ड्राक्सिङअनलिङ डढेलो’ भनेर पनि चिनिने ब्ल्याक ड्रागन फायर १० हजार वर्ग किलो मिटरभन्दा धेरै क्षेत्रमा फैलिएको थियो । सन् १९८७ मा लागेको यो डढेलो चीन र रसियाको डढेलोको इतिहासकै घातकमध्येमा पर्छ । डाक्सिङअनलिङ क्षेत्रबाट सुरु भएको यो डढेलो सुक्खा र हुरी बतासका कारण तीव्र रूपमा फैलिएको थियो । एक महिनाभन्दा बढी समय लागेको यो डढेलोमा कैयौँ बस्तीसमेत सखाप भएका थिए । एक सय ९१ व्यक्तिको मृत्यु भएको थियो भने घरबारविहीन हुनेको संख्या हजारौँमा थियो । यसले डढेलो नियन्त्रणमा छिमेकी मुलुकहरूबिच सहकार्यको आवश्यकतालाई उजागर गरेको थियो ।

८. चिन्चागा फायर (सन् १९५०) : १७ हजार वर्गकिलोमिटर
चिन्चागा फायर ब्रिटिस कोलम्बिया र क्यानडाको अल्वेटा भेगमा फैलिएको थियो । यसले करिब १७ हजार वर्ग किलोमिटरलाई चपेटामा लिएको थियो । यसलाई उत्तर अमेरिकाको इतिहासकै ठुलो डढेलो मानिन्छ । सुक्खा र गर्मीयामका कारण बिजुली चम्किँदा यो डढेलो सुरुवात भएको मानिन्छ । हप्तौँसम्म लागेको यो डढेलोलाई अन्ततः वर्षाले निभाएको थियो । डढेलोबाट निकै परसम्म ‘ग्रेट स्मोक पाल (धुवाँको ठुलो च्यादर) छाएको थियो । यसबाट युरोपका केही भाग र अमेरिकाको उत्तरपूर्वी क्षेत्रको वायुको गुणस्तर प्रभावित भएको थियो । आकाशलाई बाक्लो धुवाँले एक हप्तासम्म ढाकेर सूर्यलाई छोपेको थियो, सूर्यको रंग नै नीलो देखिएको थियो, जसलाई जो कसैले नांगो आँखाले सहजै हेर्न सक्थ्यो । 

९.ब्ल्याक फ्राइडे बसफायर (अस्ट्रेलिया– सन् १९३९) : २० हजार वर्गकिलोमिटर     
वर्षाैँको खडेरी, उच्च तापक्रम र तीव्र वायुका कारण अस्ट्रेलियाको दक्षिणपूर्वी राज्य भिक्टोरिमा सन् १९३९ मा लागेको ब्ल्याकफ्राइडे बसफायर २० हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको थियो । भिक्टोरिया राज्यको तीनचौथाइ क्षेत्रलाई चपेटामा लिएको यो डढेलोमा परी ७१ जनाको ज्यान गएको थियो । यो अस्ट्रेलियाली डढेलोको इतिहासमा तेस्रो भयानक डढेलो हो । यो डढेलोको लप्काबाट उडेको खरानी न्युजिल्यान्डसम्म पुगेको थियो ।

१०. ग्रेट फायर अफ १९१० (अमेरिका) : १२ हजार वर्गकिलोमिटर 
‘बिग वर्न’ पनि चिनिने सन् १९१० को ग्रेट फायरले अमेरिकाको उत्तरी इडाहो र पश्चिमी मोन्टानाको १२ हजार वर्ग किलोमिटर क्षेत्र सखाप पारेको थियो । अहिले लस एन्जलसमा फैलिएझैँ यो डढेलो पनि सुक्खा र तेज हावाका कारण भयानक बन्न पुगेको थियो । डढेलो नियन्त्रण लिने क्रममा ८७ अग्निनियन्त्रकको जलेर मृत्यु भएको थियो । यो यति भयानक थियो कि यसले आफ्नै मौसमी ढाचा सिर्जना गरेको थियो, जसकारण चट्याङ र बिजुली चम्किने घटनामा भारी वृद्धि गराएर नयाँ–नयाँ डढेलो सुरु गराएको थियो । यसको भयावहले अमेरिकाको वन व्यवस्थापनका नीति तथा अग्नि नियन्त्रण रणनीतिमा बदलावलाई प्रेरित गरेको थियो ।

(एजेन्सीको सहयोगमा)

सुझावित समाचार