अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत आइतबार (जनवरी २६) गाजा ‘खाली’ गरेर त्यहाँ बसोवास गर्ने प्यालेस्टिनीलाई दुई छिमेकी देश इजिप्ट र जोर्डन सार्ने विचार सार्वजनिक गरे । ट्रम्पले सोमबार ‘एयर फोर्स वन’ विमानको यात्राका क्रममा पुनः यो भनाइ दोहोर्याए । उनलाई गाजाका बाँकी बासिन्दालाई कसरी सार्ने भन्नेबारे प्रश्न गरिएको थियो । जवाफमा उनले ‘गाजाबाट प्यालेस्टिनीलाई त्यस्तो क्षेत्रमा बसोवास गराउन चाहेको र उनीहरू अवरोध, क्रान्ति वा हिंसाविना बाँच्न सक्ने’ बताए । तर, इजिप्ट, जोर्डनलगायत कैयाैँ अन्तर्राष्ट्रिय समूहले भने यस विचारमा विरोध जनाएका छन् । युद्धपूर्व गाजामा २३ लाख जनसंख्या बसोवास गर्थे ।
इजरायली सञ्चार माध्यमका अनुसार मध्यपूर्वका लागि अमेरिकाका विशेष दूत स्टिव विटकफले जनवरी २९ मा जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग यस विचारबारे छलफल गरेका थिए । भेटमा विटकफले नेतन्याहुलाई इजरायल र हमासबिच भएको पछिल्लो युद्धविराम सम्झौताका तीन चरणमा आउन सक्ने सबैखालका राजनीतिक अवरोधलाई समाधान गर्न दबाब दिए । नेतन्याहु र विटकफबिचको भेटवार्तासम्बन्धी कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन । तथापि शीर्ष इजरायली अधिकारीले पछि च्यानल १३ न्युजलाई बताएअनुसार ‘अमेरिकीहरूले यस विचारलाई बहसको विषय मात्र नबनाई कार्यान्वयन गर्ने गरी गम्भीर रहेको पाएको’ बताए ।
ट्रम्पले विश्वको भूगोल हेरफेर गर्ने इच्छा देखाएको यो पहिलोपटक होइन । गाजाबाट प्यालेस्टिनीलाई हटाउने टिप्पणी यस शृंखलाको पछिल्लो कडी मात्र हो । उनले यसअघि ग्रीनल्यान्डको भूभागलाई अमेरिकामा गाभ्ने, पानामा नहरमा पुनः अमेरिकी नियन्त्रण कायम गर्ने र ‘मेक्सिको खाडी’को नाम बदलेर ‘अमेरिका खाडी’ राख्ने घोषणा गरेका थिए । यद्यपि, गाजामाथि इजरायलको १५ महिनादेखिको निरन्तर हवाई बमबारी र स्थल आक्रमणपछि ( जसमा ४७ हजार ३५४ जना मारिए भने एक लाख ११ हजार ५६३ जना घाइते भए र झन्डै ६० प्रतिशत संरचना नष्ट भयो) आएको ट्रम्पको पछिल्लो विचारले भने उनका अन्य दाबीभन्दा फरक रूपमा प्रत्यक्ष मानवीय प्रभाव पार्नेछ ।
ट्रम्पको विचारको विश्वव्यापी विरोध
इजिप्ट, जोर्डन, संयुक्त राष्ट्र संघ र प्यालेस्टिनी नेतासहित इजरायलबाहिरका लगभग सबैले ट्रम्पको गाजा खाली गर्ने विचारमा विरोध जनाएका छन् । बुधबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले एक पत्रकार सम्मेलनमा यस विषयमा बोले । ‘प्यालेस्टिनीहरूको विस्थापनबारे अहिले जे भनिँदै छ ,त्यसलाई कहिल्यै स्विकारिने वा अनुमति दिइनेछैन । यसको प्रभाव इजिप्टको राष्ट्रिय सुरक्षामा पर्छ । त्यस्तै प्यालेस्टिनी जनताको निर्वासन वा विस्थापन एक अन्याय हो । यसमा हामी सहभागी हुन सक्दैनौँ,’ अल सिसीले पत्रकारसँग भने । अमेरिकी राष्ट्रपति ट्रम्पले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीसँग यस विषयमा छलफल भएको बताएका थिए । तर, इजिप्टको सरकारी सूचना सेवाले यसलाई गलत भनी खारेज गरेको छ ।
गाजावासी स्थानान्तरणको अर्को गन्तव्य जोर्डनले पनि यस योजनाको निन्दा गरेको छ । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले ब्रसेल्समा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, युरोपेली संसद्का अध्यक्ष रोबर्टा मेत्सोला र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टासँगको भेटघाटका क्रममा प्यालेस्टिनीहरू आफ्नै भूमिमा रहन पाउनुपर्नेमा जोड दिए ।
उता, प्यालेस्टिनी नेताहरूले पनि यो विचारलाई स्विकार्न नसकिने बताएका छन् । पश्चिम किनारामा शासन गर्दै आएको ‘प्यालेस्टिनी प्राधिकरण’का नेता महमुद अब्बासले गाजाका नागरिकलाई सो क्षेत्रबाहिर विस्थापित गर्ने उद्देश्यले गरिएको ‘कुनै पनि परियोजना’को निन्दा गरिने बताए । गाजा क्षेत्रमा वास्तविक शक्ति अभ्यास गर्ने समूह हमासका नेताले एएफपीसँग कुरा गर्दै प्यालेस्टिनीहरूले ‘त्यस्ता परियोजनालाई विफल पार्ने’ बताए । ‘दशकौँदेखि यस्तै खालको प्यालेस्टिनीहरूको विस्थापन र वैकल्पिक मातृभूमिहरू घोषणाको’ प्रयास भएको र पहिलेजस्तै अहिले पनि यो योजना असफल हुने हमासको दाबी छ ।
सन् १९९० को दशकमा हस्ताक्षर भएको ‘ओस्लो सम्झौता’मा उल्लिखित दुई–राज्य समाधानको समर्थन गर्दै आएको संयुक्त राष्ट्र संघले पनि प्यालेस्टिनीलाई छिमेकी राज्यमा सार्ने धारणाविरुद्ध कडा प्रतिक्रिया दिएको छ । जनवरी २७ मा एक पत्रकार सम्मेलनका क्रममा, संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन दुजार्रीले ट्रम्पको योजनालाई स्विकार्न नसकिने बताए । ‘ हामी मानिसलाई जबर्जस्ती विस्थापन गर्ने वा कुनै पनि प्रकारको जातीय सफायाको योजनाको विरुद्ध उभिनेछौँ,’ दुजार्रीले भने ।
यस मुद्दामा प्रत्यक्ष रूपमा जोडिएका पक्षबाहेक अन्य राज्यले पनि गाजाको जनसंख्या स्थानान्तरण गर्ने ट्रम्पको योजनाको आलोचना गरेका छन् । यसमा जर्मनी पनि समावेश छ । त्यहाँका चान्सलर ओलाफ स्कोल्जले यो सुझाब ‘अस्वीकार्य’ भनेर खारेज गरेका छन् । फ्रान्सेली विदेशमन्त्री जिन–नोएल ब्यारोटले पनि यो विचार कार्यान्वयन गर्न नसकिने भन्दै खारेज गरे । मंगलबार फ्रान्सको संसद्मा बोल्ने क्रममा ब्यारोटले अमेरिकी राष्ट्रपतिको यस सुझाव ‘पूर्ण रूपमा अस्वीकार्य’ रहेको बताए । स्वतन्त्र प्यालेस्टाइन राज्यलाई मान्यता दिने युरोपेली संघभित्रका दुई देशमध्ये एक स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अल्बारेसले ‘गाजा त्यहाँ बसोवास गर्ने प्यालेस्टिनीहरूको’ भएको बताए । अरब लिगले विरोधमा सोमबार (जनवरी २७) एक विज्ञप्ति जारी गर्दै भन्यो, ‘मानिसहरूलाई उनीहरूको भूमिबाट जबर्जस्ती विस्थापन गर्ने कार्यलाई जातीय सफाया मात्र भन्न सकिन्छ ।’
इजरायलभित्रका दक्षिणपन्थी राजनीतिज्ञले ट्रम्पको विचारको बलियो समर्थन गरेका छन् । । गाजाबाट प्यालेस्टिनीहरूलाई हटाउने र त्यहाँ इजरायलीको बसोवास बसाउने विचारको आमइजरायलीले समर्थन गरेका छन् । सन् २००५ मा गाजामा रहेका अवैध इजरायली बस्ती हटाइएदेखि नै यो विषय इजरायलीको ठुलो हिस्सामा लोकप्रिय छ । अक्टोबर ७, २०२३ मा हमासले गाजाबाट दक्षिणी इजरायलमा आक्रमण गरेपछि यस विचारले इजरायलमा पुनः महत्व पायो । जनवरी २०२४ मा जेरुसेलममा आयोजित ‘सेटलमेन्ट ब्रिंग्स सेक्युरिटी’ (बलजफ्ती आवासले सुरक्षा ल्याउँछ) शीर्षकको सम्मेलनमा १२ जना क्याबिनेट मन्त्रीहरू सहभागी भएका थिए । उग्र यहुदीका रूपमा पहिचान बनाएका अर्थमन्त्री बेजालेल स्मोट्रिच र उग्र दक्षिणपन्थी पूर्वराष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिर पनि सम्मेलनमा सहभागी थिए । दुवै शीर्ष मन्त्रीले गाजाबाट प्यालेस्टिनीहरूको ‘स्वेच्छिक’ विस्थापन र इजरायलीको पुनर्वासको छलफलमा भाग लिए ।
अहिले अन्य दक्षिणपन्थी मन्त्रीहरूसँगै बेन गभिर र स्मोट्रिचले प्यालेस्टिनीहरूलाई छिमेकी राज्यमा सार्ने ट्रम्पको विचारको स्वागत गरेका छन् । स्मोट्रिचले सोमबार पत्रकारसँगको कुराकानीमा उनले ट्रम्पको विचारलाई व्यवहारमा उतार्न सकिने इजरायली नीतिमा परिणत गर्न ‘कार्यगत योजना’मा काम गरिरहेको बताए । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने हालसम्म ट्रम्पको सुझाबमाथि सार्वजनिक टिप्पणी गरेका छैनन् । यद्यपि, धेरै पर्यवेक्षकले ह्वाइट हाउसले उनलाई अमेरिका भ्रमणका लागि दिएको निमन्त्रणालाई (जो ट्रम्पको शासनमा पहिलो भ्रमण गर्ने पहिलो अन्तर्राष्ट्रिय नेता हुदै छन्) ट्रम्पको इजरायलप्रतिको बलियो समर्थनको रूपमा व्याख्या गरेका छन् ।
ट्रम्पको योजना कानुनसम्मत छ ?
ट्रम्पको योजना अन्तर्राष्ट्रिय कानुनअनुरूप छैन । ‘गाजाबाट प्यालेस्टिनीलाई छिमेकी राज्यमा स्थानान्तरण गर्ने प्रस्तावमा जबर्जस्ती विस्थापनको गन्ध आउँछ । यसले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गर्नेछ,’ डब्लिनमा रहेको ट्रिनिटी कलेजका अन्तर्राष्ट्रिय मानव अधिकार कानुनका प्राध्यापक तथा अन्तर्राष्ट्रिय न्यायालयमा काम गरेका माइकल बेकरले भने । बेकरका अनुसार यदि ट्रम्पको सुझाब कार्यान्वयन गरियो भने त्यसले इजरायललाई गाजा गाभ्ने आधार तयार पारिदिनेछ, जुन ‘बल प्रयोग गरेर भूमि अधिग्रहणको आधारभूत कानुनी निषेधको उल्लंघन’ हुनेछ । ‘अन्तर्राष्ट्रिय अदालतहरूको नियमअनुसार जनसंख्या स्थानान्तरण जबर्जस्ती थियो कि थिएन भन्नलाई मानिससँग यस विषयमा वास्तविक विकल्प दिइएको थियो कि थिएन भन्ने कुरामा निर्भर गर्दछ । यस हिसाबले केही प्यालेस्टिनीले स्थानान्तरणमा सहमति जनाए भने पनि उनीहरूको विस्थापन वैध हुनेछैन,’ बेकरले भने ।
गाजावासीको स्थानान्तरण अन्तर्राष्टिय मानवीय कानुनअनुरूप गैरकानुनी हुने अवस्थामा पनि त्यस्तो कार्य नरोकिन सक्छ । अमेरिका विश्वको सबैभन्दा शक्तिशाली राज्य हो । अन्तर्राष्ट्रिय समुदाय व्यापार र कैयौँ अवस्थामा रक्षाका लागि उसमाथि निर्भर छ । ट्रम्पको टिप्पणीको आलोचना गरेको संयुक्त राष्ट्र संघले आफ्नो वार्षिक बजेटको २२ प्रतिशत (यसमा शान्ति स्थापनाको लागत समावेश छैन) वासिंगटनबाट प्राप्त गर्छ । ‘यदि अमेरिका विश्वको सबैभन्दा शक्तिशाली राज्य थिएन भने पनि कसैले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्न लाग्दा रोक्ने कुनै संयन्त्र छैन,’ अक्सफोर्ड स्कुल फर ग्लोबल एन्ड एरिया स्टडिज’की लीला अलिभाले भनिन् । यसै सन्दर्भमा उनले युक्रेनमा रुसी कारबाही रोक्न संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) दुवै असफल भएको औँल्याउँदै भनिन् । अलिभाका अनुसार अभूतपूर्व जनसमर्थनले मात्र यस्तो कार्यलाई रोक्न सक्थ्यो । तर, अहिलेको स्थितिमा युरोपभित्र केवल तीन राज्य आयरल्यान्ड, स्पेन र नर्वेले मात्र प्यालेस्टाइनलाई मान्यता दिन्छन् । यसले गर्दा ट्रम्पले ठुलो प्रतिरोध सामना गर्ने अवस्था छैन ।
अल जजिराबाट