खनिज दोहनमा निरन्तर राजनीतिक समर्थन, सरकारी अनुमोदन र व्यावसायिक खानी कम्पनीको संलग्नताले आगामी वर्षमा वनविनाश थप बढ्नेछ
भारतको आदिवासी क्षेत्र छत्तीसगढ ३० वर्षभन्दा बढी समयदेखि माओवादबाट प्रभावित नक्सलवादी र भारतीय सरकारबिचको हिंसात्मक संघर्षको केन्द्र रहँदै आएको छ । जसमा सन् २००० देखि ११ हजार ६ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ । नक्सलवादी सीमान्तकृत आदिवासी समुदायको अधिकारका लागि लडिरहेका छन् । तीव्र औद्योगिकीकरण, ठुलो मात्रामा खानी उत्खनन र पूर्वाधार परियोजनाले आदिवासीको भूमि र जीविकोपार्जनलाई जोखिममा पारिरहेको छ ।
करिब ४४ प्रतिशत छत्तीसगढको भूभाग घना जंगलले ढाकिएको छ, जहाँ महुवा र सालजस्ता महत्वपूर्ण वनस्पति पाइन्छन् । तर, गोलीबारी, विस्फोट र अन्य किसिमका भिडन्तले यो पारिस्थितिक प्रणालीलाई नष्ट गरिरहेको छ । रुख क्षतिग्रस्त छन्, जनावर मारिँदै छन् र भूमि कमजोर बन्दै गएको छ । आदिवासी अभियन्ता सोनी सोरीले साझा गरेका तस्बिरमा गोलीले बोक्रा च्यातिएको, विस्फोटले रुख धुजा–धुजा भएको र गोलीका छर्राले हाँगा छिन्नभिन्न भएका देखिन्छन्, जसले दीर्घकालीन क्षति पुर्याइरहेको छ ।
महुवा र सालका रुखको विनाशले आदिवासी महिलामाथि गम्भीर असर परेको छ । ‘जीवनको रुख’ भनेर चिनिने महुवा स्थानीय बजारमा उपलब्ध हुने मदिरा बनाउन प्रयोग गरिन्छ, जसले महिलाका लागि महत्वपूर्ण आम्दानीको स्रोत प्रदान गर्छ । पुरुष नक्सलवादी आन्दोलनमा सामेल हुन्छन् वा सरकारी कारबाहीको चपेटामा पर्छन् । महिलाले महुवाबाट आम्दानी गरी परिवार पाल्ने, बालबालिकाको शिक्षामा लगानी गर्ने र ऋण तिर्ने गर्छन् । दक्षिणी छत्तीसगढको दन्तेवाडामा स्थानीयले महुवा रुखलाई सम्मान गर्दै विशेष समारोहमार्फत त्यससँग ‘विवाह’ गराउने परम्परा छ ।
छत्तीसगढका जंगलको ठुलो हिस्सा ओगट्ने सालका रुखले माटोको स्थिरता कायम गर्न महत्वपूर्ण भूमिका खेल्छन् । यिनको विनाशले भूक्षय बढाउँछ र बाढी तथा पहिरोको जोखिम वृद्धि गर्छ । जलवायु परिवर्तन र अनियमित वर्षाले यी जोखिम झन् गम्भीर बनेका छन् । महुवाजस्ता आवश्यक स्रोतको क्षतिले खाद्य असुरक्षा र आर्थिक संकटलाई बढाउँदै आदिवासी समुदायलाई थप गरिबीमा धकेल्नेछ । सन् २०२२ मा छत्तीसगढका आदिवासी परिवारको वार्षिक औसत आय मात्र ५३ हजार ६ सय १० (भारतीय) रुपैयाँ थियो, जुन राष्ट्रिय कृषि घरधुरीको औसत आम्दानी एक लाख २२ हजार ६ सय १६ रुपैयाँ भन्दा निकै कम हो ।
छत्तीसगढको द्वन्द्वले त्यस क्षेत्रका वन्यजन्तुलाई पनि गम्भीर असर पुर्याइरहेको छ । डिसेम्बरमा दन्तेवाडाका जंगलमा माओवादी विद्रोहीले राखेको विस्फोटक उपकरणले एक पोथी भालुको ज्यान लियो र यसका दुई बच्चा भोकै मरे । यो बस्तर जिल्लामा विस्फोटबाट जंगली जनावरको पहिलो दर्ज गरिएको मृत्यु थियो, यद्यपि विगतमा गाईवस्तु र घरपालुवा जनावर यस्तै आक्रमणको सिकार बनिसकेका छन् । त्यसअघि मध्य छत्तीसगढको उदन्ती–सीतानदी टाइगर रिजर्भमा पाँच वर्षीय हात्तीको छावा शंकास्पद विस्फोटमा गम्भीर रूपमा घाइते भयो । यी घटनाले द्वन्द्वभित्रका डरलाग्दो प्रवृत्तिलाई उजागर गर्छन्, जहाँ वन्यजन्तु पनि हिंसाको सिकार बनिरहेका छन् ।
औद्योगीकरणले यी चुनौतीलाई थप गम्भीर बनाइरहेको छ । खनिज स्रोतले भरिपूर्ण छत्तीसगढले सन् २०२३ देखि २०२४ सम्म करिब पाँच करोड टन चुनापत्थर, चार करोड ४० लाख टन फलाम खानी र १० लाख टनभन्दा बढी बक्साइट उत्पादन गरेको छ । तर, व्यापक खानी उत्खननले वन उन्मूलन र वातावरणीय विनाशलाई थप प्रोत्साहन गरेको छ । सन् २००१ देखि २०२३ सम्म छत्तीसगढमा ५३ हजार पाँच सय हेक्टर जंगल नष्ट भयो, जसमा ठुलो मात्रामा खानी उत्खनन प्रमुख कारणमध्ये एक रह्यो । उत्तरी छत्तीसगढको हसदेव क्षेत्रमा रहेको ‘पार्सा इस्ट केते बासेन’ कोइला खानीले दुई चरणमा गरी करिब ८२ हजार रुख कटान गराएको छ । सन् २०१२ देखि २०१८ सम्म ५० हजार रुख ढालिएका थिए, जसपछि ३१ हजार आठ सयभन्दा बढी रुख पुनः काटिएका छन् ।
खनिज दोहनमा निरन्तर राजनीतिक समर्थन, सरकारी अनुमोदन र व्यावसायिक खानी कम्पनीको संलग्नताले आगामी वर्षमा वन विनाश थप बढ्ने अनुमान गरिएको छ । यो वन उन्मूलनले अपेक्षाकृत रूपमा वन्यजन्तुमा गम्भीर असर पारिरहेको छ । राष्ट्रिय बाघ संरक्षण प्राधिकरणले सन् २०२२ मा गरेको पछिल्लो जनगणनाले छत्तीसगढको बाघको संख्यामा तीव्र र चिन्ताजनक गिरावट देखाएको थियो । सो समय राज्यभर मात्र १७ बाघ बाँकी थिए, जुन २०१४ मा रहेको ४६ को संख्याबाट नाटकीय रूपमा घटेको हो । संरक्षणविद्ले अहिले अवस्था झन् बिग्रँदै गएकाले यो संख्या अझ कम भएको हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
यो गिरावट मुख्य रूपमा वासस्थान विनाशका कारण भएको हो । तर, यसलाई छत्तीसगढको उत्तरी क्षेत्रको अचनकमार बाघ संरक्षण क्षेत्र र दक्षिण–पश्चिमी भागको इन्द्रावती बाघ संरक्षण क्षेत्रमा फैलिएको माओवादी विद्रोहले झन् गम्भीर बनाएको छ । यस विद्रोहले संरक्षण प्रयासलाई अवरुद्ध गरेको छ । जंगलमा विस्फोटक पदार्थको प्रयोगले बाघको व्यवहारमा अवरोध पुर्याउने मात्र नभई संरक्षणकर्मीलाई तिनको निगरानी र संरक्षण गर्न कठिन बनाइरहेको छ । कुनै समय हरियाली र जैविक विविधताले भरिपूर्ण यो क्षेत्र तीव्र रूपमा उजाड बन्दै गएको छ । तर, छत्तीसगढका यी रुख र वन्यजन्तुको विनाश केवल प्राकृतिक स्रोतको समाप्ति मात्र नभई यसले आदिवासी समुदायको संस्कृति, पहिचान र जीवनशैलीको क्षयलाई पनि संकेत गर्छ ।
(प्रकाश म्यानचेस्टर विश्वविद्यालयमा राजनीतिशास्त्रकी विद्यावारिधि अनुसन्धाता हुन्)
द कन्भर्सेसनबाट