शीर्ष क्रमका ब्याटर पुनः एकपटक असफल भएपछि नेपाली महिला टिम त्रिकोणात्मक टी–२० शृंखलाको दोस्रो खेलमा पनि पराजित भएको छ । लगातार दोस्रो हार व्यहोर्ने क्रममा शनिबार इन्दु बर्माको कप्तानीमा रहेको नेपाल थाइल्यान्डसँग चार विकेटले पराजित भयो । आइसिसी वरीयतामा आफूभन्दा निकै राम्रा थाइल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो खेलमा पनि संघर्ष जारी राख्यो । नेपाली खेलाडी पुनः ब्याटिङ र फिल्डिङमै चुके । १५औँ ओभरमा रुबिना क्षेत्रीको बलमा कप्तान इन्दु बर्माले क्याच ड्रप गरेपछि नेपाल थाइल्यान्डसँगको सम्भावित जितबाट चुकेको थियो । थाइल्यान्डको जितमा तेस्रो नम्बरकी ब्याटर नानापात कोन्चारोनेकाले अर्धशतक बनाइन् ।
खेलाडीको ब्याटिङबाट सन्तुष्ट छैन : मनोज कटवाल, प्रशिक्षक, नेपाल
ब्याटिङमा म सन्तुष्ट छैन । थाइल्यान्डले राम्रो बलिङ गरेको हो । तर, हाम्रो शीर्ष क्रमका हाम्रो खेलाडीले राम्रो गर्न सकेनन् । दुई खेल खेल्दा समग्रमा ब्याटिङ र बलिङमा समस्या नदेखिए पनि फिल्डिङमा धेरै समस्या छ । हाम्रा प्रतिस्पर्धी राम्रा छन् । खेलाडीले क्याम्पभन्दा पनि पिएम कपबाट राम्रो अनुभव लिएका थिए ।
नेपाली टिमका प्रशिक्षक मनोज कटवालले शीर्ष क्रमका ब्याटरले राम्रो गर्न नसकेको बताए । उनी ब्याटिङबाट सन्तुष्ट हुन सकेनन् । ‘ब्याटिङमा म सन्तुष्ट छैन । थाइल्यान्डले राम्रो बलिङ गरेको हो । तर, हाम्रो शीर्ष क्रमका हाम्रो खेलाडीले राम्रो गर्न सकेनन्,’ उनले भने, ‘दुई खेल खेल्दा समग्रमा ब्याटिङ र बलिङमा समस्या नदेखिए पनि फिल्डिङमा धेरै समस्या छ ।’ र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदा मात्र १०१ रन बनाउन सक्यो । १०२ रनको लक्ष्य थाइल्यान्डले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । शृंखलामा थाइल्यान्डको यो लगातार दोस्रो जित हो । आफ्नो पहिलो खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो खेलमा पराजित भएको हो । नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध २० रनले पराजित भएको थियो । अब, नेपालले आइतबार नै नेदरल्यानड्ससँग खेल्नेछ ।
कोन्चारोनेकाको लगातार अर्धशतक
थाइल्यान्डको जितमा कोन्चारोनेकाले ५८ बलमा ६ चौकासहित अविजित ६० रन बनाइन् । पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध पनि उनले अर्धशतक बनाएकी थिइन् । त्यस्तै, मध्यक्रमका ब्याटर सुवानान खियाओटोले १४ र कप्तान नरुएमोल चाइवाईले १३ रन जोडे । अन्य पाँच खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि दोस्रो खेल खेलिरहेकी मनीषा उपाध्यायले सर्वाधिक दुई विकेट लिइन् । त्यस्तै कविता कुँवर, रुबिना क्षेत्री र कविता जोशीको नाममा समान एक विकेट रह्यो ।
चलेन नेपालको ब्याटिङ
नेपालका लागि पुनः एकपदक शीर्ष क्रमका ब्याटर पुनः फ्लप भए । मध्यक्रमका ब्याटरद्धय कविता कुंवर र विन्दु रावलले समान २५ रनको योगदान गरे । त्यस्तै, तेस्रो नम्बरमा आएकी इन्दु वर्माले १५ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर सम्झना खड्का दुई बल खेलेर डकआउट भइन् । अर्की ओपनर ममता चौधरीले दुई रन जोडिन् । आशा गरिएकी यु–१९ टिमकी कप्तान पूजा महतो पनि ६ रन जोडेर एलबिडब्लु धरापमा परेकी हुन् । पूर्वकप्तान रुबिनाले मात्र चार रन जोडिन् । थाइन्यान्डका लागि थिपात्चा पुथावङले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै, फानिता माया र नटया बुचाथामले समान दुई विकेट लिँदा एक विकेट चनाइदा सुथिरुवाङको नाममा रह्यो ।
बिदाइ भयो क्रिकेट प्रशिक्षक मोन्टीको
दुई वर्षदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक रहेका मोन्टी देसाईलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ । क्यानले शनिबार सामाजिक सञ्जालमार्फत मोन्टीसँगको सम्झौता सकिएको घोषणा गरेको हो । यद्यपि, क्यानले यसअघि नै मोन्टीसँगका दुई वर्षको सम्झौता नवीकरण नगर्ने निर्णय गरिसकेको थियो । ‘दुई वर्षको सम्झौता सकिएपछि हामी नवीकरण नगर्ने निर्णयमा पुगेका हौँ । कार्यसमितिबाट यसअघि नै पास भइसकेको छ,’ क्यानका प्रवक्ता छुम्बी लामाले नयाँ पत्रिकासँग भने ।
मोन्टी ०७९ माघदेखि नेपाली टिमको मुख्य प्रशिक्षक थिए । यसअघि मोन्टीले सन् २०१७ मा नेपालको यू–१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका थिए । मोन्टीको आगमनसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो ।
तर, गत असारमा नेपालले दोस्रोपटक आइसिसी टी–२० विश्वकप खेलेसँगै मोन्टीलाई हटाउने चर्चा चलेको थियो । विश्वकपमा नेपालले दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्ससँग खेल्दा मात्र एक अंक जोड्यो । त्यसपछि नै मोन्टीलाई निरन्तरता दिन नहुने छलफल चलेको थियो । तर, लिग २ को मिति नजिकै भएकाले त्यस मितिसम्मका लागि सम्झौता थप गरिएको क्यानका सदस्य दुर्गाराज पाठकले नयाँ पत्रिकालाई बताएका थिए । तर, नेपाल पछिल्लो १२ मध्ये आठ खेलमा पराजित भएपछि मोन्टी दबाबमा थिए । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपाल २ खेल मात्र जितेको छ । त्यसैले आलोचना पनि हुन थालेको थियो । त्यसअघि २ चैत ०७९ मा नेपालले १२ मध्ये ११ खेलमा अविश्वसनीय जित निकाल्दै पुनः चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो ।
ब्याटिङमा म सन्तुष्ट छैन । थाइल्यान्डले राम्रो बलिङ गरेको हो । तर, हाम्रो शीर्ष क्रमका हाम्रो खेलाडीले राम्रो गर्न सकेनन् । दुई खेल खेल्दा समग्रमा ब्याटिङ र बलिङमा समस्या नदेखिए पनि फिल्डिङमा धेरै समस्या छ । हाम्रा प्रतिस्पर्धी राम्रा छन् । खेलाडीले क्याम्पभन्दा पनि पिएम कपबाट राम्रो अनुभव लिएका थिए ।