जनकपुरलाई कबड्डी उपाधि

शनिबार, १९ माघ, २०८१
डिजिटल संस्करण

अपराजित रहँदै जनकपुर नाइट्सले पहिलो संस्करणको नेपाल कबड्डी लिगको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार भएको फाइनल खेलमा जनकपुरले काठमाडौं माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै उपाधि जितेको हो ।

जनकपुरले पाँच लाख र उपविजेता काठमाडौंले दुई लाख रुपैयाँ पाएका छन् । लिग चरणमा यी दुई टोलीले ३९–३९ अंकको बराबरी खेलेका थिए । तर, फाइनलमा भने जनकपुरले काठमाडौंलाई पछि पार्न सफल भयो । 

पहिलो हाफमा जनकपुरले ६ अंकको अग्रता लिएको थियो । जनकपुरले रेडबाट आठ, ट्याकल ६, दुई अलआउटबाट चार तथा बोनस र अतिरिक्तबाट सात अंक जोडेको थियो । काठमाडौंले रेडबाट दुई, ट्याकलबाट ६ तथा बोनस र अतिरिक्तबाट ११ अंक मात्रै बटुल्यो ।

पहिलो हाफमा जनकपुर २५–१९ ले अघि रह्यो । दोस्रो हाफमा कप्तान घनश्याम रोक्कामगरले उत्कृष्ट प्रदर्शन गर्दै काठमाडौंलाई खेलमा फर्काएका थिए । तर, अन्तिम समयमा सम्हालिन नसक्दा काठमाडौं उपाधिबाट विमुख हुन पुग्यो । 

काठमाडौंले रेडबाट सात, ट्याकलबाट पाँच, एक अलआउटबाट दुई तथा बोनस तथा अतिरिक्तबाट आठ अंक जोडेको थियो । जनकपुरले रेडबाट सात, ट्याकलबाट ६ तथा बोनस र अतिरिक्त गरेर पाँच अंक मात्रै बटुल्न सक्यो ।

See More On

सुझावित समाचार