कुकुरले शरीर खाएको अवस्थामा नवजात शिशुको एउटा हात फेला

शुक्रबार, १८ माघ, २०८१
डिजिटल संस्करण

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा कुकुरले शरीरको भाग खाएको अवस्थामा नवजात शिशुको एउटा हात फेला परेको छ । जालपास्थित खरबारीका जशबहादुर राईको घर नजिकै पर्ने बाँसघारीमा नवजात शिशुको शव गाडिएको छ भन्ने स्थानीयले दिएको जानकारीको आधारमा बिहीबार जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएर गएको प्रहरी टोली पुग्दा कुकुरले शरीरजति खाइसकेको अवस्थामा शिशुको एउटा हात फेला परेको हो । 

घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी कुकुरले खाएर बाँकी रहेको नवजात शिशुको हात परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको जिल्ला प्रहरी निरीक्षक सञ्जु कार्कीले जानकारी दिइन् । जालपामा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेको विषयमा प्रहरी टोली परिचालन गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

बाँसघारीमा खाल्डो खनेर गाडिएको अवस्थामा भेटिएको नवजात शिशुको शव हत्यापछि घटना लुकाउन गाडिएको हुनसक्ने आशंका गरिएको घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक कार्कीले जानकारी दिइन् । घटनाको प्रकृति हेर्दा नवजात शिशुको शव केही दिनअघि गाडिएको भएपनि त्यसबारेमा बिहीबारमात्र जिल्ला प्रहरी कार्यालयमा जानकारी आएको उनको भनाइ छ ।

खरबारीस्थित जसबहादुरको घरभन्दा करिब ८०० मिटर टाढा पर्ने बाँसघारीमा गाडिएको ठाउँबाट बरामद गरिएको नवजात शिशुको हातसमेत सडेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेपछि जालपावासीमा कौतुहलता बढेको वडाध्यक्ष दानबहादुर राईले जानकारी दिए । 

See More On

सुझावित समाचार