रूपेश र सिन्दिरा राष्ट्रिय बुद्धिचालको उपाधिनजिक

बिहिबार, १७ माघ, २०८१
डिजिटल संस्करण

नेपाल बुद्धिचाल महासंघको आयोजनामा हेटौँडामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताअन्तर्गत आठौँ चरणको खेल सम्पन्न हुँदा एफएम रूपेश जैसवाल र सिन्दिरा जोशी उपाधिनजिक पुगेका छन्।

२५औँ पुरुष राष्ट्रिय बुद्धिचाल खेलमा पूर्वनेपाल च्याम्पियन रूपेश जैसवालले सिएम नवीन तण्डुकारलाई पराजित गर्नुपूर्व युवा पुरुषोत्तम सिलवालसँग बराबरी  खेल खेलेका थिए।

रौतहटका रूपेशले जारी प्रतियोगितामा उत्कृष्ट २३०५ रेटिङ पर्फमेन्स खेल प्रदर्शन गर्दै आफ्नो व्यक्तिगत ३३.८ रेटिङ वृद्धि गर्न सफल भएका छन्। उनले २०९३ रेटिङबाट खेल प्रारम्भ गरेका थिए।

हेटौँडास्थित होटेल सामनाको सभाहलमा चलिरहेको प्रतिस्पर्धामा एफएम क्षितिज भण्डारी, काठमाडौंका पुरुषोत्तम सिलवाल र झापाका राजन सुवेदीले समान साढे पाँच अंक जोडेर संयुक्त दोस्राे स्थान ओगटेका छन्।

यस्तै, मकवानपुरका क्षितिजले २०९१ रेटिङ स्तरको खेल खेल्दै आफ्नो ६.५ रेटिङ वृद्धि गरेका छन्। उदीयमान पुरुषोत्तमले २०९० को स्तरीय खेल खेल्दै २२ रेटिङ वृद्धि गरेका छन्। वर्तमान नेपाल च्याम्पियन राजन २१३५ रेटिङ पर्फम गर्दै व्यक्तिगत ३२.८ रेटिङ बढाउन सफल भएका छन्।

अन्तिम तीन चरणको खेल बाँकी हुँदा सिएम शुश्रुत दाहाल पाँच अंक बनाउँदै एकल तेस्रो स्थानमा छन्। झापाका शुश्रुतले २०४२ रेटिङ पर्फम गर्दै व्यक्तिगत पाँच रेटिङ वृद्धि गरेका छन् । दोलखाका आशिष फुयाँल र काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी ४.५ अंक जोडेर चौथो स्थानमा कायम छन्।

यसैगरी, दसाैँ महिला राष्ट्रिय बुद्धिचाल स्पर्धामा वर्तमान वुमन नेसनल च्याम्पियन सिन्दिरा जोशी उत्कृष्ट प्रदर्शन गरी पुनः उपाधितर्फ बढेकी छिन्। काठमाडौंकी सिन्दिराले ६.५ अंक जोड्ने क्रममा पाँच जित र तीन खेल बराबरी खेलेकी छिन्। उदीयमान खेलाडीद्वय बाँकेकी इशा गिरी र काठमाडौंकी एञ्जल महर्जन दुवैले समान ६–६ अंक जोडेका छन्।

संयुक्त दोस्राे स्थान प्राप्त गर्ने क्रममा युवा खेलाडी इशाले एक हार, पाँच जित र दुई खेल बराबर खेलेकी हुन्। यस्तै, युवा एञ्जलले दुई खेलमा हार व्यहोरिन् भने ६ वटा खेलमा जितको स्वाद चाखेकी छिन्।

मोरङकी शान्ति धिमालले एक हार, एक बराबरी र पाँच जित दर्ता गर्दै ५.५ अंक जोडेर तेस्रो स्थानमा रहन सफल भएकी छिन् भने कीर्तिपुर काठमाडौंकी विनिता कपालीले तीन हार र पाँच जित हासिल गर्दै सम्भावना जगाएकी छिन्।

महासंघका महासचिव धरमबहादुर लामाका अनुसार मकवानपुर जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका खेलका थप दुई चरणको खेल शुक्रबार बिहान ९ बजे र दिउँसो ३ बजे हुनेछ।

सुझावित समाचार