बिरामी बोकेको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बिहिबार, १७ माघ, २०८१
डिजिटल संस्करण

बिरामी बोकेको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । खोटाङबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको ना.१ज ६४२१ नम्बरको जिप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका– ७ स्थित भँडारे खोलामा बुधबार राति दुर्घटना भएको हो। 

प्रहरीका अनुसार दुर्घटनामा खोटाङको केपिलासगढी गाउँपालिका– ३ बासपानीका ५६ वर्षीया मायादेवी गुरुङ, उनका २८ वर्षीय छोरा पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १२ जालपाकी ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको हो। 

घरमै आगो लगेर गम्भीर घाइते भएकी मायादेवीलाई उपचारका लागि छोरा र बहिनीले जिपमा राखेर काठमाडौं लैजाने क्रममा दुर्घटना भएको हो।  जिप सडकबाट करिब सय मिटर तल खसेको छ। चालक  अनिल पण्डित फरार छन्। फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाले जनाएको छ। 

तेल ठानेर बोतलमा रहेको पेट्रोल तताउन खोज्दा शरीरमा आगो लागेपछि मायादेवी गम्भीर घाइते भएकी थिइन्। जिल्लामा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं रिफर गरिएको थियो। 
 

सुझावित समाचार