नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कतिपय प्राथमिक सेयर (आइपिओे) निष्कासनमा छलछाम भइरहेको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् । उनले कतिपय कम्पनीले सर्वसाधारण जनताको पैसा खिच्ने उद्देश्यले मात्रै आइपिओे जारी गरिरहेको भन्दै त्यसप्रति नियामक सजग हुनुपर्ने बताएका हुन् ।
नेपाल चेम्बरले स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) को नयाँ कार्यसमितिलाई स्वागत गर्न आयोजित कार्यक्रममा अध्यक्ष अग्रवालले सेयर बजारमा म्यानुपुलेसन भइरहेको भन्दै त्यसमा समेत सजक हुनुपर्ने बताएका हुन् । ‘सेयर बजार भनेको कुनै पनि देशको अर्थतन्त्रको ऐना हो, कुनै पनि विदेशी लगानीकर्ताले सम्बन्धित देशको ब्लुचिप कम्पनीको अध्ययन गरेर देशको अर्थतन्त्रका बारेमा बुझ्छन्,’ उनले भने, ‘अहिले केही कम्पनी सेयर जारी गरेर सर्वसाधारण लगानीकर्ताको पैसा आफूतिर खिच्ने उद्देश्यले अघि बढेका छन्, त्यसलाई सरकारले सूक्ष्म तरिकाले नियमन गर्नुपर्छ ।’ पुँजीबजारलाई चलायमान बनाएर समग्र लगानीकर्ताको हितमा काम गर्न ब्रोकर एसोसिएसन र चेम्बरको सहकार्य गर्ने उनले बताए ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्राले नेपालको पुँजीबजार नेपाली जनतामाझ लोकप्रिय भएको भन्दै अबका दिनमा हरेक वर्ष लाभांश दिने कम्पनीको मात्र आइपिओ जारी गर्नुपर्ने बताए । अहिले कतिपय कम्पनीले वित्तीय विवरण म्यानुपुलेसन गरी घाटामा रहेका कम्पनीको पनि आइपिओ जारी गर्ने क्रम बढेकाले त्यसलाई रोक्नुपर्ने उनले बताए । ‘पुँजीबजारमा लगानी गरेपछि कुनै पनि लगानीकर्ताले वार्षिक १० प्रतिशत प्रतिफल पाउने ग्यारेटी हुनुपर्छ र त्यस्ता कम्पनीलाई मात्र आइपिओ ल्याउन स्वीकृति दिनुपर्छ,’ उनले भने, अहिले जस्ता पनि कम्पनीको आइपिओ जारी गरेर बजारबाट पैसा उठाउने काम भएको छ, त्यसलाई रोक्नुपर्छ ।’
पुँजीबजारमा विदेशी लगानी भित्र्याउनुपर्छ
स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान)का अध्यक्ष सागर ढकालले निजी क्षेत्रबिच संस्थागत सहकार्य गरेर नेपाली पुँजीबजारमा विदेशी लगानी भित्र्याउनुपर्ने बताए । ‘हामी सबैको उद्देश्य लगानी गरेर नाफा आर्जन गर्ने अनि सोहीअनुरूप राज्यलाई कर तिर्दै देशको आर्थिक विकास गर्ने हो,’ उनले भने, ‘उद्देश्य एउटै भएपछि सबै आर्थिक र व्यावसायिका मुद्दामा सबै उद्योगी व्यवसायी र उनीहरूले नेतृत्व गर्ने संघ–संगठन एक ठाउँमा उभिनुपर्छ ।’ अस्थिर नीतिका कारण अहिले सेयरबजारका लगानीकर्ताहरू मारमा परेको भन्दै उनले पुँजीबजार विकासका लागि राज्यले दीर्घकालीन नीति बनाउनुपर्ने उनले बताए ।
अहिले नेपाली पुँजीबजारमा सेयर खरिद–बिक्री मात्र भइरहेको भन्दै अब बजारमा नयाँ प्रविधिसहितको बन्ड मार्केट, सर्टसेल, इन्ट्रा डे कारोबार, ब्रोकरलाई मार्जिन लेन्डिङ सुविधाजस्ता नयाँ प्रोडक्ट ल्याउनुपर्ने उनको भनाइ थियो । हाल अर्थतन्त्रमा देखिएको सिथिलताको अन्त्य गर्न टेलिमक, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषजस्ता संस्थालाई बैंक वित्तीय संस्थाको संस्थापक सेयर खरिदमा लगाइएको १५ प्रतिशतको क्याप हटाइनुपर्ने
ढकालले बताए ।
चेम्बर र इजरायलबिच सूचना प्रविधिमा सहकार्यको सहमति
चेम्बर अफ कमर्स र इजरायलबिच सूचना प्रविधिलगायतका क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने सहमति भएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासबिच यसअघि भएका सहकार्यलाई निरन्तरता दिएर नेपालमा थप लगानी विस्तार गर्ने सहमति भएको हो ।
सरकारको पढ्दै कमाउँदै कृषि कार्यक्रम, घरेलु कामदारमा इजरायलमा जाने नेपालीलाई निरन्तरता दिन एवं हस्पिटालिटी निर्माण क्षेत्रमा समेत नेपाली कामदारलाई रोजगारी दिन अध्यक्ष अग्रवालले राजदूत वाससँग आग्रह गरे । भेटका क्रममा राजदूत वासले नेपाली उद्योगी–व्यापारीसँग सहकार्य गर्न पाउँदा आफू निकै खुसी भएको प्रतिक्रिया दिएका थिए ।