नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलोपटक नेदरल्यान्ड्सविरुद्ध टी–२० आईमा प्रतिस्पर्धा गर्दै छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा बिहीबारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज हुँदै छ । सिरिजको पहिलो खेल नेपाल र नेदरल्यान्डबिच दिउँसो १२:१५ बजे सुरु हुनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को टी–२० वरीयतामा नेदरल्यान्ड्स १६औँ स्थानमा छ । नेपालको वरीयता २०औँ हो । सिरिजमा सहभागी थाइल्यान्डको वरीयता माथि रहेको छ । पछिल्लो वरीयतामा थाइल्यान्ड १३औँ स्थानमा छ । थाइल्यान्ड पनि नेपालमा आएर पहिलोपटक खेल्न लागेको हो । सिरिजमा सहभागी टोलीले एक–अर्काविरुद्ध समान तीनपटक प्रतिस्पर्धा गर्नेछन् । लिग चरणमा सर्वाधिक अंक बटुल्ने टोली नै सिरिजको विजेता घोषित हुने क्यानका सचिव पारस खड्काले बताए ।
क्यानले प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गत साता धनगढीमा भएको प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताबाट गरेको हो । इन्दु बर्माको कप्तानीमा युवा खेलाडीले पनि स्थान बनाएका छन् । गत साता मलेसियामा भएको यू–१९ विश्वकपमा सहभागी दुई खेलाडीले पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । नेपाली महिला टोलीले सन् २०२२ पछि दोस्रोपटक टी–२० आई सिरिज खेल्न लागेको हो । यसअघि नेपालले त्रिवि मैदानमा पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० आई सिरिजका रूपमा युगान्डाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । नेपाल र युगान्डाबिच पाँच खेलको टी–२० आई भएको थियो ।
यस प्रतियोगिता वरीयता सुधार गर्ने अवसर भएको कप्तान बर्माको भनाइ छ । ‘वरीयतामा तल छौँ, यस सिरिजले पक्कै वरीयता सुधार हुनेछ,’ उनले भनिन्, ‘‘पहिलोपटक खेल्दै छौँ, उनीहरूको खेलको भिडियो हेरेर रणनीति बनाएका छौँ ।’
सन् २०२२ पछि घरेलु सिरिज
नेपाली महिला क्रिकेट टोलीले त्रिवि क्रिकेट मैदानमा सन् २०२२ को मेपछि अन्तर्राष्ट्रिय खेल खेल्दै छ । यसबिच नेपालले मलेसियामा र हङकङमा भएका विभिन्न सिरिज खेलेको थियो । साथै, महिला खेलाडीले विश्वकप छनोट र महिला एसिया कपमा समेत सहभागिता जनायो । साढे दुई वर्षपछि घरेलु मैदानमा प्रतिस्पर्धा गर्न पाउँदा खेलाडी उत्साहित भएको कप्तान बर्माले बताइन् । ‘साढे दुई वर्षपछि घरेलु मैदानमा सिरिज हुँदै छ, सबै खेलाडी धेरै उत्साहित छौँ,’ उनले भनिन्, ‘टोली राम्रो र सन्तुलित छ ।’ यसैगरी, थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले पहिलोपटक नेपालमा आएर खेल्न उत्साहित रहेको बताइन् । थाइल्यान्डले यसअघि भारतमा प्रतिस्पर्धा गरेको थियो । ‘पहिलोपटक नेपाल आएका छौँ, यसअघि भारतको पुनेमा खेलेका थियौँ,’ उनले भनिन्, । नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडेले नेपाल आउँदा उत्साहित भएको बताइन् ।