दसौँ राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ । हेटौँडामा चलिरहेको प्रतियोगिताको चौथो दिन बुधबारको खेल समाप्तिपछि राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशीलाई एन्जल महर्जनले कडा चुनौती दिएकी छिन् । सिन्दिरा र एन्जलले समान ५ अंक जोड्दै संयुक्त रूपमा शीर्ष स्थान बाँडेका छन् ।
छैटौँ चरणमा साबिक विजेता सिन्दारा झापाकी कृतिसारा अधिकारीसँग बराबरीमा रोकिइन् । यस नतिजासँगै उनले एकल अग्रता रक्षा गर्न सकिनन् । एन्जलले ताप्लेजुङकी सुशीला गुरुङलाई हराउँदै स्कोर बराबरी गरिन् । ४.५ सहित बाँकेकी इशा गिरी र मोरङकी शान्ति धिमालले दोस्रो स्थानमा छन् ।
यसैगरी, पुरुषतर्फ एफएम रूपेश जैसवाल ५.५ अंकका साथ शीर्ष स्थानमा छन् । पूर्वनेपाल च्याम्पियन रूपेशले पोजिसन डाउन अवस्थामा अनुभव प्रयोग गर्दै खेल उल्ट्याएका हुन् । दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धामा मकवानपुरका एफएम क्षितिज भण्डारी, दोलखाका आशिष फुयाँल र काठमाडौंका पुरुषोत्तम सिलवाल छन् । उनीहरूले समान ४ अंक जोडेर रूपेशलाई पछ्याइरहेका छन् ।
३.५ अंकका साथ झापाका सिएम शुश्रुत दहाल, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी र काठमाडौंका प्रेमकृष्ण महर्जन तेस्रो स्थानमा छन् । प्रतियोगिता संयोजक महासंघका महासचिव धरमबहादुर लामाले राष्ट्रिय विजेतालाई काजकिस्तानमा हुने ४६औँ ओलम्पियाड र श्रीलंकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागी गराउने बताएका छन् ।