ऊर्जामन्त्री खड्कामाथि छलफल गर्न बोलाइएको संसदीय समिति बैठकमा कांग्रेस सांसद अनुपस्थित, कोरम नपुगेर बैठक नै स्थगित

मन्त्री खड्काले जलविद्युत् आयोजना ठेक्कामा अनियमितता गरेको आरोप

बिहिबार, १६ माघ, २०८१
डिजिटल संस्करण
ऊर्जामन्त्री खड्कामाथि छलफल गर्न बोलाइएको संसदीय समिति बैठकमा कांग्रेस सांसद अनुपस्थित, कोरम नपुगेर बैठक नै स्थगित

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

सत्तारूढ कांग्रेसका सांसद अनुपस्थित हुँदा ऊर्जामन्त्री दीपक खड्काविरुद्ध परेको उजुरीमा छलफल गर्न बोलाइएको संसदीय समिति बैठक स्थगित भएको छ । उजुरीका सम्बन्धमा छलफल गर्न सबै दलसँग परामर्श गरेरै राखिएको बैठकमा कांग्रेस सांसद ‘योजनाबद्ध’ रूपमा अनुपस्थित रहे । कांग्रेसका केही सांसद हाजिर गरेर हिँडे । 

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित उजुरीमा छलफल गर्न बुधबार साढे ११ बजे बैठक बोलाएको थियो । तर, समितिमा १० जना मात्रै सांसद उपस्थित भएपछि कोरम नपुगेर बैठक स्थगित भएको सभापति दीपकबहादुर सिंहले बताए । ‘कोरम पुगेन । सुरुमा १० जना मात्रै थिए । पछि ढिलो गरी १२ जना पुग्नुभयो । दुईजना अझै पुगेन, अनि स्थगित गर्‍यौँ,’ सभापति सिंहले भने । 

पहिला हुन्छ भनेका कांग्रेस सांसद बैठकमा नआएको सभापति सिंहको भनाइ छ । ‘बिदाको दिन भए पनि सबैको सल्लाहमा राखेको थिएँ । एजेन्डा मन्त्रीजीसँग जोडिएका उजुरीमा छलफल गर्ने थियो । तर, माननीयज्यूहरू आउनुभएन,’ उनले भने, ‘पहिला हुन्छ भन्नुभयो, तर पछि आउनुभएन । यही विषयमा छलफल गर्न २४ माघ साढे ८ बजे अर्काे बैठक तय भएको छ । 

समिति बैठकमा सहभागी हुन ऊर्जामन्त्री खड्का र राज्यमन्त्री कान्छाराम तामाङ १२ बजेतिर आएका थिए । त्यतिखेर समितिमा ५–६ जना सांसद थिए । मन्त्री र राज्यमन्त्री बसिरहँदा १० जना पुगेका थिए । मन्त्री आएको केही समयमै कांग्रेस सांसद राजेन्द्र बजगाईं हिँडे । त्यसभन्दा पहिले नै कांग्रेसकी कल्पना चौधरी हाजिर गरेर हिँडेकी थिइन् । 

कांग्रेसका सांसद नदेखेपछि सभापति सिंहले शंकर भण्डारीलाई फोन गरेका थिए । सहिद दिवस मनाउन जिल्ला पुगेका भण्डारीले ‘आज हाम्रा सांसदले भ्याउँदैनन्, बैठक सारिदिनुस्’ भनेर अनुरोध गरेका थिए । त्यतिन्जेल एमालेकी निर्मला कोइराला र नागरिक उन्मुक्तिका लालवीर चौधरी आइपुगे । 

समितिको हाजिर पुस्तिकामा हाजिर गर्ने १२ जना पुगे । तर, कांग्रेसका दुईजना निस्किसकेका थिए । सभापति सिंहले रास्वपा सचेतक निशा डाँगीलाई फोन गरे । संसदीय दलको बैठक चलिरहेकाले ‘उपस्थित हुन नसक्ने’ बताइन् । त्यसपछि बैठकमा सत्तारूढ कांग्रेसको अनुपस्थितिमा मन्त्रीविरुद्धको उजुरीमा छलफल गर्नु मनासिब नहुने भन्दै स्थगित गरिएको थियो । 

समिति सचिवालयका अनुसार बैठकमा कांग्रेसका राजेन्द्र बजगाईं र कल्पना चौधरी, एमालेका ठाकुर गैरे, गोकर्ण विष्ट, प्रेमराज महर्जन, दयालबहादुर शाही, निर्मला कोइराला, माओवादीका माधव सापकोटा, राप्रपाका दीपक सिंह (सभापति), विना लामा, जसपाकी सुशीला श्रेष्ठ र नागरिक उन्मुक्तिका लालवीर चौधरी उपस्थित थिए । 

मुगु कर्णाली र किमाथांका अरुण गरी दुईवटा परियोजना निजी क्षेत्रलाई दिने ऊर्जा मन्त्रालयको गृहकार्यविरुद्ध समितिमा उजुरी परेको छ । उजुरीबारे मन्त्रालयको आधिकारिक धारणा माग गरिएको बैठकमा कांग्रेस सांसद अनुपस्थित हुनुलाई विपक्षी दलले भने शंकाको दृष्टिले हेरेका छन् । 

माओवादी सांसद माधव सापकोटाले समितिमा बहुमत भएको कांग्रेसका सांसद उपस्थित नहुनु संयोग मात्रै नभएको बताए । ‘कोरम संख्यात्मक हिसाबले पुग्थ्यो । कांग्रेसका तर्फबाट बहुसंख्यक र जिम्मेवार सांसदहरूको अनुपस्थिति भयो । आउने भनेका कांग्रेस सांसदको संख्या बहुमत थियो,’ उनले भने, ‘तर, बैठकमा उपस्थित हुनुभएन । यो अनुपस्थिति संयोग मात्र होइन ।’

कांग्रेसका एक सांसदका अनुसार आफ्नै पार्टीका ऊर्जामन्त्रीमाथि प्रश्न गर्ने गरी बोलाइएको बैठकमा नजाने रणनीति बनेको थियो । केही उपस्थित हुन जाने र हाजिर लगाएर निस्किने र कोरम नपुर्‍याउने रणनीतिअनुसार काम भएको ती सांसदले बताए । 

तर, समितिमा रहेका कांग्रेस सांसद शंकर भण्डारीले आफू राष्ट्रपति आउने कार्यक्रम भएकाले जिल्ला पुगेको र अरूको हकमा आफूलाई जानकारी नभएको बताए । ‘कांग्रेसले कोरम पुर्‍याएन भन्न मिल्दैन । २५ सदस्यीय समितिमा आठजना कांग्रेसका छन् । बाँकी १७ जना किन गएनन् ? उहाँहरू गए कोरम पुगिहाल्थ्यो,’ उनले भने, ‘म राष्ट्रपतिको कार्यक्रम परेकाले तनहुँ आएको छु । अरू माननीय किन जानुभएन, मलाई जानकारी भएन ।’

२५ सदस्यीय समितिमा कांग्रेसका आठ, एमालेका सात, माओवादीका तीन, रास्वपा र राप्रपाका दुई–दुई, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र जसपाका एक–एक सांसद सदस्य छन् । कांग्रेसबाट कल्पना चौधरी, दिनेशकुमार यादव, प्रतिमा गौतम, खमबहादुर गर्बुजा, मैना कार्की, राजेन्द्र बजगाईं, शंकर भण्डारी, सीता गुरुङ सदस्य छन् । 

एमालेबाट गोकर्णराज विष्ट, ठाकुरप्रसाद गैरे, दयालबहादुर शाही, निर्मला कोइराला, प्रेमबहादुर महर्जन, वसन्तकुमार नेम्वाङ, महेश बस्नेत छन् । माओवादीबाट माधव सापकोटा, शक्तिबहादुर बस्नेत, उर्मिला माझी सदस्य छन् । 

रास्वपाबाट निशा डाँगी, शिव नेपाली र राप्रपाबाट सभापति दीपकबहादुर सिंह, विना लामा छन् । जनमतबाट चन्द्रकान्त राउत, एकीकृत समाजवादीबाट प्रकाश ज्वाला, नागरिक उन्मुक्तिबाट लालवीर चौधरी, जसपाबाट सुशीला श्रेष्ठ सदस्य छन् । 

मन्त्रीविरुद्ध परेको उजुरी 
ऊर्जामन्त्री खड्काविरुद्ध ललिन्द्र राईले समितिमा उजुरी दिएका छन् । उजुरीमा जलविद्युत् उत्पादन विकास कम्पनी लिमिटेडले हालसालै निकालेको एउटा सूचना र त्यो सूचना निकाल्नुपूर्वको कथित कानुनी पूर्वाधारको रूपमा जारी लगानी साझेदारी गर्नेसम्बन्धी कार्यविधि २०८१ हास्यास्पद र सेटिङको ह्वास्स गन्ध आउने रहेको उल्लेख छ । उक्त कार्यविधिको आधारमा किमाथांकाका अरुण जलविद्युत् आयोजना अर्धजलाशययुक्त ४५४ मेगावाट र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना १९०२ मेगावाटका लागि सार्वजनिक–निजी साझेदारी ढाँचामा लगानीको आह्वान गरेको उजुरीमा छ । उजुरीमा सार्वभौम जनताको प्रतिनिधिको हैसियतमा शीघ्र छानबिन गरी आवश्यक कारबारी अगाडि बढाउन अनुरोध गरिएको छ । उजुरीको टुंगो नलागेसम्म वित्तीय लगानी आह्वानको आशयपत्र पेस गर्नेसम्बन्धी सूचनाको सम्पूर्ण कारबाही स्थगित गर्न पनि उजुरीकर्ताले माग गरेका छन् । 

सुझावित समाचार