समाजवादी मोर्चाले २४ चैतमा काठमाडौंमा जनप्रदर्शन गर्ने

बुधबार, १६ माघ, २०८१
डिजिटल संस्करण

समाजवादी मोर्चाले आगामी २४ चैतमा काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकार गणतन्त्रविरोधी देखिएको निष्कर्ष निकाल्दै जनप्रदर्शनको निर्णय गरेको हो ।

मोर्चाका सचिवालय सदस्य एवं एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमालका अनुसार २४ चैतमा काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय भएको छ । त्यसअघि चैत पहिलो साता मधेश प्रदेशमा जनप्रदर्शन हुनेछ । मधेशको जनप्रदर्शनको संयोजकको जिम्मा नेसपालाई दिएको छ । सातै प्रदेशमा विचार सभा गर्ने निर्णय पनि भएको छ । काठमाडौंको जनप्रदर्शनअघि सातै प्रदेशमा विचार सभा गर्ने निर्णय मोर्चाको छ । 

मोर्चामा नेकपा मसालसहितका दललाई सहभागी गराउन छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ । जसपा नेपाल र जसपालाई पनि मोर्चामा सहभागी गराउन छलफल गर्ने नेताहरूले बताएका छन् । नेपाली विशेषताको समाजवाद निर्माण गर्ने लक्ष्यसहित ४ असार ०८० मा समाजवादी मोर्चा गठन भएको थियो । सुरुमा मोर्चामा माओवादी, एकीकृत समाजवादी, जसपा नेपाल र नेकपा आबद्ध भए पनि पार्टी विभाजन भएपछि जसपा नेपाल बाहिरिएको छ । महिन्द्र राय यादव नेतृत्वको नेसपा भने मोर्चामा भित्रिएको छ ।

हाल मोर्चाको संयोजक नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लव छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेसपा अध्यक्ष महिन्द्र राय यादव मोर्चाका सदस्य छन् । मोर्चाको संयोजक आलोपालो प्रणालीमा चयन हुने मोर्चामा सहमति छ । बैठकले मोर्चालाई सुदृढ बनाउने र मधेश प्रदेशमा मोर्चालाई पुनर्गठन गरेर जाने निर्णय पनि गरेको छ । 

सुझावित समाचार