कञ्चनपुरका साढे सत्ताइस हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप दिइने

बुधबार, १६ माघ, २०८१
डिजिटल संस्करण

कञ्चनपुरका साढे २७ हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले २७ हजार ७६५ किशोरीलाई खोप दिने भएको हो । राष्ट्रिय खोप अभियानअन्तर्रगत जिल्लामा पनि स्वास्थ्य कार्यालयले खोप दिने तयारी अघि बढाएको छ । 

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले अभियानको तयारी अघि बढेको बताए । उनका अनुसार २२ माघदेखि सुरु हुने अभियान ६ फागुनसम्मै सञ्चालन हुनेछ ।

विद्यालयमा अध्ययनरत २६ हजार, ८०२ र विद्यालयबाहिर रहेका ९६३ किशोरीलाई खोप दिइनेछ  । 
जिल्लाभरि ४२६ खोप केन्द्रमार्फत पाठेघरको मुखको क्यान्सरविरुद्धमा खोप दिइने उनले बताए ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत जोशीले नियमित खोपसँगै यसअघि खोप लगाइसकेका किशोरीहरूलाई नदिइने बताए । स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी खगेन्द्र कार्कीले विद्यालयमा ४२६ र विद्यालयबाहिर ८२ खोप केन्द्रमार्फत खोप दिइने बताए । 

१० वर्षदेखि १४ उमेर समूहका किशोर र कक्षा ६ देखि १०सम्म अध्ययनरत विद्यार्थी सहभागी हुनेछन । सुदूरपश्चिममा २ लाख, १ हजार ९३४ किशोरीलाई खोप दिइनेछ । 

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुँवरले राष्ट्रिय अभियान भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोडदिए । मगलबार पत्रकारसँग खोपबारे छलफलसमेत गरेको छ ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेशसिंह धामीले राष्ट्रिय अभियान भएकाले पत्रकारले समेत भूमिका निर्वाहमा जोडदिएका छन्। स्वास्थ्य कार्यालय कञ्चनपुरले समयमै खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरेका छन्।  

सुझावित समाचार