भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको बिजुली माया वनः श्रेष्ठ संगीत राष्ट्रिय पुरस्कार यस वर्ष वरिष्ठ कलाकार एवं गीतकार नीर शाहलाई प्रदान गरिएको छ ।
मंगलबार साँझा हेटौँडामा भएको विशेष कार्यक्रममा शाहालाई प्रतिष्ठानले एक लाख पुरस्कार राशिको बिजुली माया वनः श्रेष्ठ संगीत राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो । पुरस्कार कार्यक्रमका प्रमुख अतिथि साहित्यकार नगेन्द्र थापा, प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ र पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठले शाहलाई पुरस्कार प्रदान गरे ।
प्रतिष्ठानले ०६४ सालमा स्थापना गरेको बिजुली माया वनः श्रेष्ठ संगीत राष्ट्रिय पुरस्कार भीम विरागको १०१औँ जन्मजयन्तीको अवसर पारेर प्रदान गरेको हो । पुरस्कार हेटौँडाका कुशल व्यवसायी, संगीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नामबाट स्थापना गरेका हुन् ।
समारोहमा बोल्दै गीतकार नीर शाहले आफूले कहिल्यै पनि गीतकारका रूपमा चिनिनका लागि गीत नलेखेको बताए । कवि हृदयले गीत लेख्ने सन्दर्भमा शाहले भने, ’जब कविले केही लेख्छ त्यो कविता हुन्छ, तर जब कविताले कविता लेख्छ, त्यो गीत बन्छ ।’
प्रमुख अतिथि नगेन्द्र थापाले नीर शाहका गीत हल्का शब्दहरू बुनेर दुई दिनका नलेखिएको बताए । मानवीय संवेदनाको गहिराइमा पुगेर लेखिने भएकाले नै थोरै गीत लेखेर पनि शाहका गीतहरू स्रोताको रोजाइमा परेको उनको भनाइ थियो ।
कार्यक्रममा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले नीर शाहको व्यक्तित्वबारे चर्चा गरेका थिए ।
सो अवसरमा कलाकारहरू वृष्मा गहतराज, पूर्णविक्रम अधिकारी, दीपेश श्रेष्ठ, रमेशराज गहतराज, बाबु क्षेत्री, सुनिता शर्मा लुइँटेल, अन्जन दाहाल, मथुरा प्रधानलगायतले गीत प्रस्तुत गरेका थिए ।
०६४ सालदेखि प्रदान गरिँदै आएको पुरस्कार प्राप्त गर्ने शाह सोह्रौँ स्रष्टा हुन् । स्वदेश तथा विदेशमा रहेर नेपाली गीत–संगीतको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने स्रष्टालाई प्रदान गरिने पुरस्कारबाट हालसम्म अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डंगाेल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जंगम, डा. किरण प्रधान र राजेन्द्र थापा पुरस्कृत भइसकेका छन् ।