तामाङ सगरमाथा आरोही संघले काठमाडौंमा सोनाम ल्होछारको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । पूर्वऊर्जा तथा जलस्राेत राज्यमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य सूर्यमान दोङको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा तामाङ सगरमाथा आरोहीहरूलाई सम्मानसमेत गरियो । सम्मानित हुनेमा सगरमाथा आरोही चतुरकुमार तामाङ, जेस्मान तामाङ र तुलबहादुर तामाङ रहेका छन् ।
कार्यक्रममा विशेष अतिथिका रूपमा अन्तर्राष्ट्रिय तामाङ परिषद्का संस्थापक पर्शुराम तामाङ, पूर्वकृषि राज्यमन्त्री राधिका तामाङलगायतको उपस्थिति थियो । शुभकामना मन्तव्य दिँदै प्रतिनिधिसभा सदस्य दोङले तामाङ आरोहीहरूलाई एकताबद्ध गर्ने उदाहरणीय काम संस्थाले गरेको बताए । आरोहीहरूको पिरमर्का बुझ्न स्थापना गरिएको यस संस्थालाई सबैले सहयोग गर्नुपर्नेमा विशेष अतिथि पर्शुराम तामाङले जोड दिए ।
कार्यक्रममा संघकी अध्यक्ष शर्मिला स्याङ्तान (लामा)ले नेपालको आरोहण क्षेत्रलाई समृद्ध, व्यवस्थित तथा दिगो बनाउन भूमिका खेल्ने बताइन् । उनले आदिवासी समुदायका आरोहीहरूबिच सौहार्दता, मित्रता तथा एकता अभिवृद्धि गर्ने बताउँदै भनिन्, ‘संस्थाले नेपालको पर्वतीय पर्यटनलाई समृद्ध, व्यवस्थित र दिगो बनाउन आवश्यक पहल गर्ने, तामाङ समुदायका आरोहीहरूलाई हिमाल आरोहण तथा कार्यस्थलमा आइपरेका समस्या वा दुर्घटना तथा अन्य आकस्मिक परिस्थितिमा सहयोग गर्नेछ ।’
संघले हिमाल आरोहणको दौरान दुर्घटना भई घाइते भएका र मृत्यु भएका आरोहीका परिवारलाई सहयोग गर्दै आएको अध्यक्ष लामाको भनाइ छ । कार्यक्रममा इन्दिरा गोले, सुभाष तामाङ, लक्ष्मी स्याङ्तान, जीवन बोमजनलगायत कलाकारहरूले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।