स्थानीयले हेलिप्याडमा गाडेको झन्डा हटाएपछि सगरमाथा (खुम्बु) क्षेत्रमा हेलिकोप्टरले उद्धार उडान थालेका छन् । मंगलबार हेलिकोप्टरबाट दुईवटा उद्धार उडान भएको वायुसेवा सञ्चालक
संघले जनाएको छ ।
खुम्बुमा उद्धार उडान सुचारु भए पनि व्यावसायिक उडान भने अझै अनिश्चित देखिएको छ । स्थानीय अवरोधका कारण २५ दिनदेखि खुम्बु क्षेत्रमा सबै प्रकारको हेलिकोप्टर उडान ठप्प थियो । एक साताभित्र व्यावसायिक हेलिकोप्टर उडान पनि सुचारु हुने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अनोजकुमार घिमिरेले बताए ।
‘मंगलबारदेखि रेस्क्यु फ्लाइट सुरु भएको छ, स्थानीयले हेलिप्याडमा गाडेको झन्डा हटाइसकेका छन्, समस्या समाधानमा सबै सरोकारवाला गम्भीर देखिनुभएको छ,’ प्रजिअ घिमिरेले भने, ‘अबको एक साताभित्र व्यावसायिक प्रयोजनका उडान पनि सुचारु हुनेमा विश्वस्त छु ।’ उनकै संयोजकत्वमा बसेको सरोकारवालाको बैठकबाट उद्धार उडान सुचारु गर्ने विषयमा सहमति भएको हो ।

स्थानीयले हेलिप्याडमा झन्डा गाडेर उद्धारबाहेकका व्यावसायिक उडानमा अवरोध सिर्जना गरेपछि वायुसेवा सञ्चालक संघले २१ पुसदेखि सबै प्रकारका उडान रोक्ने निर्णय गरेको थियो । स्थानीय युवा क्लब, संघ–संस्था, समितिलगायतको सिफारिसमा गाउँपालिका र सगरमाथा निकुञ्ज कार्यालयले १७ पुसदेखि व्यावसायिक प्रयोजनको हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । निकुञ्ज क्षेत्रमा अत्यधिक हेलिकोप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तकाुे सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको पालिका, निकुञ्ज र स्थानीयको जिकिर थियो ।