भ्रमपूर्ण प्रचारको प्रतिवाद गर्न सांसदहरूलाई एमालेको निर्देशन

बुधबार, १६ माघ, २०८१
डिजिटल संस्करण

सत्तारूढ दल एमालेले माओवादी नेतृत्वले देशमा अस्थिरता मच्चाउन सरकारविरुद्ध मिथ्या र भ्रमपूर्ण प्रचार गरिरहेको आरोप लगाउँदै प्रतिवादमा उत्रिन सांसदहरूलाई निर्देशन दिएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुनियोजित रूपमै देशमा अस्थिरताको खेती गर्न भ्रमपूर्ण प्रचार गरिरहेको भन्दै एमालेले आफ्ना सांसदहरूलाई तथ्य र तर्कसहित धारिलो रूपमा प्रस्तुत भएर प्रतिवाद गर्न निर्देशन दिएको हो ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सम्पन्न संसदीय दलको बैठकले विशेषतः माओवादी नेतृत्वले गरिरहेको ‘गोयबल्स प्रचार’लाई खण्डन र प्रतिवाद गर्न निर्देशन दिएको प्रमुख सचेतक महेश बर्तौलाले बताए । १८ माघबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनमा पार्टीका सांसदहरूले खेल्नुपर्ने भूमिकाका विषयमा छलफलका लागि एमालेले संसदीय दलको बैठक राखेको थियो । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सांसदहरूलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘०८४ मंसिरमा के परिणाम आउँछ त्यसअनुसार सरकार ढल्छ । तर, मान्छे धेरैले अस्तिको मंसिरमा भन्ने बुझे । ०८४ को मंसिरभन्दा यता सरकारमाथि लगाउने आरोप मात्रै हो ।’

ओलीले नेपालमा केही भएन, सबै दल र नेता उस्तै हुन् र असफल नै भइसके भन्ने भाष्य स्थापित गरेर बंगलादेशका उदाहरण दिने गरे पनि नेपालमा लोकतन्त्रिक प्रक्रियाबाहेक अराजकताको बाटोबाट परिवर्तनको कुनै सम्भावना नरहेको ठोकुवा गरे । ‘केही भएन भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको छ । हामीले शिक्षा, स्वास्थ्य, कृषि आदि क्षेत्रमा ध्यान दिएर काम गरिरहेका छौँ ।’ प्रधानमन्त्री ओलीले भने, ‘श्रीलंका र बंगलादेशका उदाहरणका कुरा गरे पनि नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रियाबाहेक अरू प्रकारका अराजकताका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव छैन ।’

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले विधेयकहरू ल्याएर पर्याप्त बिजनेस नदिँदा र विधेयक पारित नहुँदा थुप्रै समस्या देखिएको भन्दै अहिलेको सरकार फटाफट विधेयक अघि बढाएर हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा सार्थक बनाउने गरी लागेको बताएका थिए । उनले फटाफट विधेयक अघि बढाउन सत्तारूढ सहयात्री कांग्रेससहित सत्तापक्षका दलबिच सहमति भएको जानकारी पनि गराए । त्यसअनुसार नै संसद् र संसदीय समितिमा प्रभावकारी भूमिका खेल्न उनले सांसदहरूलाई निर्देशन दिए ।

See More On

सुझावित समाचार