श्रीलंकाले सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध हटायो

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

मुलुकले आफ्नो सबैभन्दा खराब आर्थिक मन्दीबाट बाहिर निस्कने थप संकेतहरू देखाएपछि श्रीलंकाले मंगलबार सवारीसाधन आयातमा लगाइएको पाँच वर्षको प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।

सूचनामन्त्री नलिन्दा जयतिसाले सन् २०२० देखि लागु गरिएको प्रतिबन्ध चरणबद्ध रूपमा हटाएर शनिबारदेखि बस, ट्रक र उपयोगिता सवारी साधनहरूको आयात खुला गरिने बताए ।

‘हाम्रो विदेशी मुद्रा सञ्चिति रित्तिने गरी आयातमा वृद्धि हुन नदिन हामी धेरै सावधानीपूर्वक अघि बढिरहेका छौँ,’ जयतिसाले कोलम्बोमा पत्रकारहरूलाई भने, ‘मागका आधारमा हामी कार, मोटरसाइकल र तीनपांग्रे सवारीसाधनजस्ता अन्य श्रेणीका सवारी साधनहरूको आयात खोल्नेछौँ ।’

उनले आयात आवश्यक कर राजस्व उत्पन्न गर्न आवश्यक भएको बताए । सरकारले यस वर्ष आयातलाई लगभग एक अर्ब २० करोड डलरमा सीमित गर्ने आशा गरेको छ । सवारी साधनमा हालको कर दर तीन सय प्रतिशतभन्दा बढी छ ।
श्रीलंकाले सन् २०२० मार्चमा आयात प्रतिबन्ध लगाउनु अघिको अन्तिम पूर्ण वर्ष सन् २०१९ मा सवारीसाधन आयातमा एक अर्ब ४० करोड डलर खर्च गरेको थियो ।

सुझावित समाचार