प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्तापक्षीय राजनीतिक दलको बैठक प्रधानमन्त्री निवास, बालुुवाटारमा बसिरहेको छ। संघीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्तापक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतसमेत सहभागी छन्।
बैठकको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरूलाई संसद्को पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताए। संसद्लाई पर्याप्त बिजनेस दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसदहरूको प्रभावकारी भूमिका आवश्यक पर्ने उनको भनाइ छ।
यही माघ १८ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ।
