अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)बाट नेपाललाई अनुदान सहायताबाट प्राप्त चार परियोजना ९० दिनका लागि स्थगित हुने भएकाे छ।
अनुदान सहायतामध्ये बजेट प्रणालीमार्फत सर्वसञ्चित कोषबाट भुक्तानी हुने चार आयोजनाहरूमा प्राप्त अनुदान सहयोग स्थगित गर्न युएसएड नेपालले पत्राचार गरेको अर्थ मन्त्रालयले जनाएको छ।
युएसएड हेल्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, युएसएड एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, युएसएड एजुकेसन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट र युएसएड इन्क्लिुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट स्थगित गर्न युएसएड नेपालले पत्राचार गरेको हाे।
युएसएड र नेपाल सरकारबिच २०२२ मे ५ मा हस्ताक्षरित डभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्टमार्फत यी परियोजना सञ्चालित थिए।
‘यस ९० दिनको अवधिमा स्थगित भएका आयोजनाअन्तर्गत युएसएड स्रोततर्फ कुनै दायित्व सिर्जना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरूलाई जानकारी गराइएको छ,’ मन्त्रालयका प्रवक्ता एवं सहसचिव महेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।