जिल्ला प्रहरी कार्यालय खोटाङले कृषिविज्ञ मदन राईविरुद्ध दर्ता गरेको बाल यौन दुर्व्यवहार मुद्दामा जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ । पीडित किशोरीले दिएको उजुरीका आधारमा प्रहरीले दर्ता गरेको मुद्दामा राईलाई अदालतले १० माघमा कसुरदार ठहर गरेको हो ।
जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई दोषी ठहराएको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीपकुमार भट्टराईले जानकारी दिए । यद्यपि, उनको सजायबारे अर्को पेसीमा सुनुवाइ हुने अदालतले जनाएको छ ।
अदालतका सूचना अधिकारी भट्टराईका अनुसार सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । दिक्तेलको सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा २९ वैशाख ०८० मा फाउन्डेसनबाटै राई पक्राउ परेका थिए ।
फाउन्डेसनका संस्थापकसमेत रहेका ७५ वर्षीय राईले केही वर्षदेखि सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेर स्टाटस लेख्दै आएका थिए । राईलाई जिल्ला अदालत खोटाङले २२ जेठ ०८१ मा चार लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।
वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– २ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा करिब १५० विद्यार्थी अध्ययनरत छन् । फाउन्डेसनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया एक किशोरीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा दिएको उजुरीका आधारमा राई पक्राउ परेका थिए ।