वैदेशिक सहायता स्थगन गर्ने ट्रम्पको कार्यकारी आदेश : सहायता रोकिँदा नेपालमा २६ अर्बका कार्यक्रम प्रभावित

सोमबार, १४ माघ, २०८१
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति ट्रम्पले शपथलगत्तै हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार अमेरिकाका सबै सहायता ९० दिनका लागि स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलगत्तै नेपालमा अमेरिकी सहायताका करिब २६ अर्ब रुपैयाँबराबरका विभिन्न परियोजना र कार्यक्रम प्रभावित भएका छन् । अमेरिकी विकास सहयोग नियोग युएसएडले सम्बन्धित गैरसरकारी संस्था र सरोकारवालाहरूलाई यसबारे सूचना दिएको छ । अमेरिकाको सबैभन्दा धेरै सहायता एमसिसी कार्यान्वयनमा छ । 

‘अहिले जुन ठाउँमा कुनै परियोजना वा कार्यक्रम पुगेका छन्, ती अहिलेकै अवस्थामा स्थगित भएका छन् । आगामी ९० दिनभित्र समीक्षा गरेर अर्को निर्णय कार्यान्वयन हुनेछ भन्ने सूचना युएसएडमार्फत सम्बन्धित गैरसरकारी संस्था र सरोकारवालालाई दिइएको रहेछ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नयाँ पत्रिकासँग भने । ती अधिकारीका अनुसार अमेरिकाले समीक्षा नगरुन्जेल सबै परियोजना र कार्यक्रम यथास्थितिमा रहनेछन् । सोमबारदेखि यो निर्णय लागू हुनेछ । 

अमेरिकी विदेश मन्त्रालयले देशबाहिर रहेका आफ्ना अधिकारी तथा अमेरिकी दूतावासहरूलाई पठाएको आन्तरिक पत्रमा हाल कायम सबै वैदेशिक सहायता तत्कालका लागि रोक लगाएको र नयाँ सहायता पनि स्थगित गरेको उल्लेख छ । उक्त पत्रमा ‘प्रस्तावित नयाँ सहायता वा हाल कायम रहेका सहायताको थप विस्तारबारे समीक्षा तथा अनुमोदन नभएसम्म नयाँ सहायता वा विद्यमान सहायताहरूको विस्तारका लागि कुनै पनि नयाँ कोष नहुने’ भनिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले शपथलगत्तै हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार अमेरिकाका सबै सहायता ९० दिनका लागि स्थगित भएका हुन् । 

विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि मानवीय र विकास सहायता प्रभावित भएको हो । युएसएडले नेपाल सरकार र स्थानीय संस्थाहरूसँग साझेदारी गर्दै खाद्य सुरक्षा सुधार, आर्थिक विकास र विविधीकरण, प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षण प्रणालीको सुधार, प्रजातान्त्रिक शासनको प्रवद्र्धन र प्राकृतिक विपत् व्यवस्थापनमा क्षमताको सुदृढीकरणमा काम गर्दै आएको छ । नेपालको विकासका लागि संघीयताको समर्थन, समावेशिताको प्रवद्र्धन र संस्थाहरूको क्षमता र दिगोपनको सुदृढीकरण गरी तीन मुख्य क्षेत्रमा उसको सहयोग रहँदै आएको छ । युएसएडले विभिन्न दातृ निकायमार्फत यी परियोजनाहरूका लागि रकम उपलब्ध गराउने गरेको छ । 

अमेरिकाको वैदेशिक सहायतासम्बन्धी निकाय फरेन असिस्टेन्स अर्थात् वैदेशिक सहायतासम्बन्धी कार्यालयको वेबसाइटमा नेपालमा ऊर्जा प्रसारणलाइनका लागि एमसिसी बोर्डले पारित गरेको परियोजना कार्यान्वयनमा पनि प्रभाव पर्नेछ । 

‘हामी अहिले पर्ख र हेरको अवस्थामा छौँ । अमेरिकाले तीन महिनाभित्र जे समीक्षा गर्छ र कार्यान्वयन प्रक्रिया थाल्नेछ, त्यसपछि मात्रै हामीले अमेरिकी सरकारसँग वार्ता गर्न सक्छौँ । अहिले नै के–कसो हुन्छ भन्न सकिने स्थिति छैन,’ परराष्ट्रका अधिकारीले भने । यद्यपि, यसबारे नेपालस्थित अमेरिकी राजदूतावासले प्रतिक्रिया दिएको छैन ।

अमेरिकी विदेशमन्त्री म्याक्रो रोवियोले पत्रकारहरूसँगको कुराकानीमा अमेरिका सुरक्षित, सुदृढ र समुन्नत हुने सर्तमा मात्रै वैदेशिक सहायता निरन्तरता दिने बताइसकेका छन् । इजरायल र इजिप्टलाई उपलब्ध हुने सैन्य सहायता नरोकिने र अत्यावश्यक आपत्कालीन मेडिकल सहायता जारी राख्ने गरी बाँकी वैदेशिक सहायताका विषयमा ट्रम्प सरकारले समीक्षा गर्नेछ ।

तथ्यांकअनुसार अमेरिका विश्वकै सबैभन्दा धेरै वैदेशिक विकास सहायता दिने देश हो । उसले सन् २०२३ मा ६८ अर्ब अमेरिकी डलरबराबरको अन्तर्राष्ट्रिय सहायता प्रदान गरेको तथ्यांक छ । अमेरिकी विदेश मन्त्रालयको सूचनापछि विश्वभर उसको लगानीका विकासदेखि सैन्य सहायतासम्म सबै प्रभावित हुने देखिएको छ । 

नेपालमा अमेरिकी सहायता केमा आउँछ ?
विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि मानवीय र विकास सहायता प्रभावित भएको छ । युएसएडले नेपाल सरकार र स्थानीय संस्थाहरूसँग साझेदारी गर्दै खाद्य सुरक्षा सुधार, आर्थिक विकास र विविधीकरण, प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षण प्रणालीको सुधार, प्रजातान्त्रिक शासनको प्रवद्र्धन र प्राकृतिक विपत् व्यवस्थापनमा क्षमताको सुदृढीकरणमा काम गर्दै आएको छ । नेपालको विकासका लागि संघीयताको समर्थन, समावेशिताको प्रवद्र्धन र संस्थाहरूको क्षमता र दिगोपनको सुदृढीकरण गरी तीन मुख्य क्षेत्रमा उसको सहयोग रहँदै आएको छ । युएसएडले विभिन्न दातृ निकायमार्फत यी परियोजनाहरूका लागि रकम उपलब्ध गराउने गरेको छ । 

सुझावित समाचार