वरिष्ठ सइको ग्रेड बढाउन अर्थको सहमति

नेपाल प्रहरीमा वरिष्ठ सइको दरबन्दी एक हजार ४१८

सोमबार, १४ माघ, २०८१
डिजिटल संस्करण

दुई ग्रेड मात्र पाउँदै आएका वरिष्ठ सइले पाँच ग्रेडसम्म पाउने 

नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षकहरूको एक तह बढुवा भएर पनि तलब कम रहेको समस्या समाधानतर्फ अघि बढेको छ । अर्थ मन्त्रालयले वरिष्ठ सइको ग्रेड थप र तलब समायोजनका लागि सहमति दिएको छ । अदालतले समेत परमादेश दिएपछि सरकारले यो समस्या समाधानमा पहल थालेको हो । 

गृह मन्त्रालयका अनुसार अब मन्त्रिपरिषद्मा लगेर यससम्बन्धी निर्णय हुनेछ । त्यससँगै वरिष्ठ सइले पाँच ग्रेडसम्म पाउने भएकाले तलबसम्बन्धी समस्या समाधान हुनेछ ।  वरिष्ठ सइमा बढुवा भएका प्रहरी अधिकारीले सइमा भन्दा मासिक २६५ रुपैयाँ कम तलब बुझ्दै आएका छन् । 

गत ९ माघमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गृहको प्रस्तावमा सहमति दिएका हुन् । अर्थको सहमति बिहीबार आइपुगेको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए । यस सहमतिसँगै थप बजेट निकासाका लागि बाटो खुलेको छ ।

०७९ को भदौमा सरकारले प्रहरीमा वरिष्ठ पदको सिर्जना गरे पनि तलब समायोजन गर्न नसक्दा वरिष्ठ सइहरूमाथि अन्याय हुँदै आएको थियो । नेपाल प्रहरीमा वरिष्ठ सइको एक हजार ४१८ दरबन्दी छ । 

सर्वाेच्च अदालतले गत १६ साउनमा उनीहरूको ग्रेड थप गरी तलब समायोजनका लागि परमादेश दिएको थियो । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शारंगा सुवेदीको इजलासले  दिएको परमादेश लामो समयसम्म कार्यान्वयन भएको थिएन । प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्य वरिष्ठ सइको तलब समायोजनसम्बन्धी समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको बताउँछन् ।

बढुवाको जाम खोज्न होला इन्स्पेक्टरमा समायोजन ? 
सरकारले संघीय प्रहरी ऐनको विधेयक संसद्मा लैजाने तयारी गरिररहँदा यससँगै प्रहरी समायोजनका लागि पनि छलफल सुरु भएको छ । प्रहरी समायोजनका लागि प्रहरीमा प्रहरी निरीक्षकको दरबन्दी ३०४ अपुग हुने संगठन तथा व्यवस्थापन सर्वेक्षणले औँल्याएको छ । 

समायोजनका लागि नयाँ भर्ना गर्न समय लाग्ने भएकाले वरिष्ठ सइको पद इन्स्पेक्टरमा समायोजनसम्बन्धी प्रस्ताव पनि प्रहरीमा अघि बढेको छ । यसले कनिष्ठ प्रहरी अधिकारीको बढुवा जामसम्बन्धी समस्या हल हुने र समायोजन पनि सहज हुने प्रहरी अधिकारी बताउँछन् । 

०५८ मा असइमा भर्ना भएका प्रहरी अधिकारी अहिलेसम्म वरिष्ठ सइमै छन् । ०७२ को प्रहरी नियमावलीमा इन्स्पेक्टरमा रिक्त हुनेमध्ये ४० प्रतिशत पदमा मात्र बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था हुँदा यस्तो समस्या भएको हो । जसलाई समाधान गर्न समायोजनका लागि आवश्यक करिब तीन सय इन्स्पेक्टरका पदमा वरिष्ठ सइको दरबन्दीबाट समायोजन गरेर बढुवा गर्दा राज्यलाई भार पनि नपर्ने र तल्लो तहका प्रहरीको बढुवा जाम पनि खुल्ने अवस्था छ । 

प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्य जुनियर प्रहरी अधिकारीको बढुवाको समस्या रहेको बताउँदै त्यसलाई समाधानका लागि छलफल भइरहेको बताउँछन् । ‘जुनियर प्रहरीको लामो समयसम्म बढुवा नहुने समस्या छ,’ उनी भन्छन्, ‘यो समस्या समाधानका लागि प्रहरी नेतृत्व र गृह मन्त्रालयले पहल गरिरहेको छ ।’  

हाल बढुवाबाट पूर्ति हुने इन्स्पेक्टरका ४४ पद रिक्त छन् । जसमा ०५८ मा भर्ना असइको टोली मुख्य दाबेदार छन् । जुन ब्याचमा ८८ जना हाल वरिष्ठ नायब निरीक्षक छन् । यो ब्याच इन्स्पेक्टर हुन अझ दुई वर्ष लाग्नेछ । त्यसपछि ०६० मा भर्ना भएका १३२ जना असइको ब्याच छ । सो ब्याच इन्स्पेक्टर हुन ०८७ लाग्ने अवस्था छ । यही हिसाबले त्यसपछिका असइका ब्याचका अधिकारी ३० वर्ष सेवा अवधि पुग्दा पनि इन्स्पेक्टरमा बढुवा हुन गाह्रो हुन्छ । 
 

सुझावित समाचार