नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार सञ्चालनमा दुई मुख्य दलबिचको सहकार्य मजबुत रहेको बताएका छन्। मुलुकका दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सरकार सञ्चालनका विषयमा आपसी सहमति र विश्वासमा अघि बढेको उनले स्पष्ट पारे।
बर्दीबासमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरता चिर्न दुई मुख्य दलबिचको सहमति मुलुकको समृद्धि र विकासका लागि भएको दाबी गरे।
‘हामीबिच कुनै अलमल वा जालझेल केही छैनन्, हामी दुवै दलले स्पष्टताका साथ यो अहिलेको प्रतिनिधिसभाको कार्यकालभरि स्थिर सरकार दिने वाचा गरेका छौँ,’ पोखरेलले भने, ‘सबैले स्पष्ट भए हुन्छ, हामी त्यसैअनुरूप अघि बढेका छौँ।’
पछिल्लोपटक वर्तमान सरकार बनेयता आमजनतामा स्थिर सरकार बनेको अनुभूति भएको उनको भनाइ छ। यसले आर्थिक सूचकहरूमा क्रमशः सकारात्मक सुधार देखाएको उनले बताए।
महासचिव पोखरेलले मुलुकको समृद्धि र विकासका लागि अब हुने निर्वाचनमा कुनै एक दलको स्पष्ट बहुमतको सरकार बन्नुपर्ने उल्लेख गरे। यसै अभिभाराबाट निर्देशित भएर आफ्नो दल ‘मिसन–२०८४’ अभियानमा लागेको पोखरेलको भनाइ छ। ०८४ सालको निर्वाचनमा एमाले स्पष्ट बहुमतका साथ सरकार सञ्चालन गर्ने दृढ संकल्प लिएर अघि बढेको उनले बताए।
‘मुलुकको समृद्धिको सपना एमालेले देखेको छ, मधेश भन्नोस् वा पहाड र हिमाल, सबै क्षेत्रको सन्तुलित विकास एमाले नेतृत्वमै सम्भव छ,’ उनले भने।
अहिले मुख्य विपक्षी दलका नेताले वर्तमान सरकार अप्राकृतिक बनेको भन्दै हिँडेको सन्दर्भ जोड्दै पोखरेलले बढी मत पाउने मुख्य दल मिलेर बनेको सरकार अप्राकृतिक भन्नु सत्ताबाट बाहिरिनुपरेको छटपटीमात्र भएको आरोप लगाए।
उनले एमाले नेतृत्वको सरकारले नै मधेशका सडक फराकिला बनाउने र मधेशलाई हराभरा बनाउन सुनकोशी मरिन डाइभर्सनको काम अघि बढाएको बताए। मधेशी जनतामा अब आफ्नो विकास एमाले नेतृत्वमै हुन सक्ने विश्वास बढ्दै गएको प्रमाण यहाँको प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्नु पर्याप्त भएको उनको भनाइ छ।
महासचिव पोखरेलले मधेशको शिक्षा तन्दुरुस्त गर्न आवश्यक रहेको र यहाँका प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन रोक्न अपरिहार्य बनेको उल्लेख गरे। प्राकृतिक सम्पदाको अवैध दोहन रोक्न जनताको प्रतिरोधका लागि उनले आह्वान गरे।