गृह मन्त्रालयको निर्देशनपछि मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटाउने निर्णयबाट प्रहरी प्रधान कार्यालय पछाडि हटेको छ । भिजिट भिसामा हुने मानव तस्करी रोक्ने उद्देश्यसहित यस्तो टोली परिचालन गर्ने निर्णय लिइएको भए पनि गृहको निर्देशनपछि कार्यान्वयन हुन सकेन ।
प्रधान कार्यालयले गत ३ पुसदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा ब्युरोको टोली खटाउने गरी २ पुसमै ब्युरोलाई निर्देशनसहितको पत्र पठाएको थियो । प्रहरी निरीक्षकको कमान्डमा ३ पुसबाटै विमानस्थलमा टोली खटाउने तयारीमा रहेको ब्युरो अर्को पत्र पाएपछि रोकिएको थियो ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी दिनेश आचार्यले विमानस्थलमा ब्युरोको टोली अहिले नखटिएको बताए । ‘विमानस्थलमा अहिले मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका टोली खटिएका छैनन् । यसका पछि कारण केही छैनन् । अन्य प्रहरी पनि विमानस्थलमा खटिएकै छन्,’ उनले भने ।
विमानस्थलमा विशेषगरी ब्युरोको टोलीलाई सुरक्षाको बाहिरी घेरामा राख्ने भनिएको थियो । जसको मुख्य जिम्मेवारी भिजिट भिसामा विदेश जान लागेका यात्रुको निगरानी गर्न थियो । शंकास्पद देखिएकालाई नियन्त्रणमा लिने र अनुसन्धानपछि मात्रै उनीहरूलाई हिरासतमुक्त गर्नेसम्मको अधिकार दिने भनिएको थियो ।
ब्युरो प्रमुख एसएसपी ओमबहादुर रानाले विमानस्थलमा ब्युरोको टोली पठाउने निर्णय तत्कालका लागि स्थगित भएको बताए । ‘विमानस्थलसहित पोखरा, भैरहवा र अन्य चार प्रदेशमा ब्युरोको टोली साधन स्रोतसहित खटाउने भनिएको हो । उच्चस्तरीय निर्णय हुनासाथ टोली उक्त क्षेत्रमा खटिनेछन्, यसका लागि तयारी हुँदै छ,’ उनले भने ।
गृहका सूचना अधिकारी दिलकुमार तामाङले विमानस्थलमा ब्युरोको टोली खटाउने÷नखटाउने विषयमा जानकारी नभएको बताए । ‘विमानस्थलमा ब्युरोको टोली खटाउने विषयलाई गृहले रोकेको विषयमा जानकारी भएन । यस विषयमा बुझेर मात्रै प्रतिक्रिया दिन सकिएला,’ उनले भने ।
विमानस्थलमा ब्युरोको टोली परिचालनप्रति विमानस्थलस्थित अध्यागमनका कर्मचारी सकारात्मक देखिँदैनन् । गृहको पछिल्लो निर्णयमा यसले पनि काम गरेको हुन सक्ने कतिपयको आशंका छ ।
विमानस्थलबाट भिजिट भिसामा दुबईमा मानव तस्करी हुन थालेपछि ब्युरोले डेढ वर्षअघि टोली परिचालन गरेको थियो । तर, विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले विरोध गरेपछि टोली फिर्ता भएको थियो । त्यसलगत्तै अनुसन्धानमा खटिएका प्रहरीले अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी हुने गरेको फेला पारेको थियो । यस क्रममा अध्यागमनका अधिकृत नरवीर खड्कासहितको टोलीलाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।
हाल विमानस्थलमा लागुऔषध नियन्त्रण ब्युरो, प्रधान कार्यालयमातहतको विशेष ब्युरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीसमेत खटिँदै आएका छन् । विगतमा भिजिट भिसामा दुबई जानेका लागि प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको शैक्षिक प्रमाणपत्र, बैंक स्टेटमेन्ट अनिवार्य थियो । अहिले भिजिट भिसामा जान चाहनेका लागि होटेल बुकिङ, जहाजको टिकट र भिसा भए पुग्छ । तस्करले कानुनको यही दफा प्रयोग गरेर मानव तस्करी गर्ने गरेको बताइन्छ ।
ब्युरोको टोली विमानस्थलसहित मुलुकको अन्य नाकामा पनि खटाउने निर्णय भएको छ । विशेषगरी कोशी, मधेश र लुम्बिनी प्रदेशका मुख्य नाकामा ब्युरोका टोली खटिनेछन् । सादा पोसाकमा खटिने उनीहरूले मानव तथा मिर्गौला तस्करीजस्ता गम्भीर अपराधका घटनामा विशेष निगरानी गर्नेछन् । आवश्यक जनशक्तिको तथ्यांक संकलन भइसकेको छ । प्रधान कार्यालयबाट उपलब्ध हुनासाथ उक्त नाकामा पनि ब्युरोका टोली खटिनेछन् ।