सर्वसाधारणले अझै चढ्न पाएनन् दमकको भ्यु टावर

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले गृहनगरमा २३ मंसिरमा उद्घाटन गरेको दमक भ्यु टावर अझै सर्वसाधारणका लागि खुला भएको छैन । भ्यु टावरपरिसरमा प्रवेश पाए पनि १८ तले टावर चढ्ने सर्वसाधारणको रहर पूरा हुन सकेको छैन । 

दमक भ्यु टावरको नाममा बजेट छुट्याए पनि प्रधानमन्त्री ओलीले यसलाई दमक व्यापारिक कम्प्लेक्सको नाम दिएका छन् । डेढ अर्ब लागतको यो टावरमा ठूला बिजनेस कम्पनीको स्थापना र व्यापारिक केन्द्रको परिकल्पना गरे पनि उद्घाटनको डेढ महिनासम्म भवन भने खाली छ । व्यापार सञ्चालन नभएपछि सर्वसाधारणलाई पनि भ्यु टावरमा प्रवेश गर्न दिइएको छैन । उद्घाटनको करिब एक महिनासम्म त सर्वसाधारणले भ्यु टावरपरिसरमा समेत प्रवेश पाएका थिएनन् । त्यहाँ पुगेका सर्वसाधारण बाहिरबाटै फोटो र भिडियो खिचेर फर्कन्थे । 

करिब १५ दिनयता भने भ्यु टावरपरिसरमा निःशुल्क प्रवेश दिइएको छ । भ्यु टावर चढ्न नपाउँदा सर्वसाधारण निराश भएर फर्कने गरेका छन् । ‘दमकमा भ्यु टावर बनेको पहिलादेखि नै सुनेको हो । पहिलोपटक यहाँ आइपुगेँ,’ गौरीगन्ज– २ बाट आएका बलराम राजवंशीले भने, ‘भ्यु टावर चढ्न पाइएला, कहाँ–कहाँसम्म देखिन्छ हेर्न पाइएला भन्ने लागेको थियो, तर चढ्न नै नदिने रहेछ ।’

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय झापाका प्रमुख रमेश थिङका अनुसार भ्यु टावर हेर्नका लागि दैनिक करिब तीन सय सर्वसाधारण आउने गर्छन् । उनीहरूलाई निःशुल्क प्रवेश दिइएको छ । तर, यहाँ अवलोकनमा आएकाले न सरकारले भनेझैँ कुनै व्यापार देख्न पाउँछन्, न त दृश्यावलोकन नै गर्न पाउँछन् । उनीहरू भ्यु टावरसँग बाहिरैबाट फोटो र भिडियो खिचेर फर्कन्छन् । ‘भ्यु टावर कसरी चढ्ने भन्ने विषयमा विशिष्ट संरचनाको सञ्चालन र व्यवस्थापन गर्ने गरी बनेको विकास समितिले निर्णय गर्नेछ,’ उनले भने, ‘सरकारले भर्खर समितिको कार्यकारी निर्देशक नियुक्त गरेको छ । अब कार्यालय खुल्छ । त्यसपछि हस्तान्तरण गर्छौँ ।’ उनका अनुसार अहिले भ्यु टावरपरिसर प्रवेश गर्ने सर्वसाधारणको व्यवस्थापन र भ्यु टावर रेखदेखका लागि चारजना कर्मचारी राखिएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म परिसरभित्र प्रवेश दिने गरेको सघन सहरीले जनाएको छ । पर्याप्त कर्मचारी नभएकै कारण अहिले भ्यु टावर चढ्न दिन नसकेको सघन सहरीको भनाइ छ । ‘हामीले मात्र व्यवस्थापन गर्न सक्दैनौँ । उद्घाटनको अघिल्लो दिन केपी ओलीको कार्यकर्ता हुँ भन्दै आए । हामीले चढ्न दियौँ । लिफ्टमा क्षमताभन्दा धेरै मान्छे चढ्छन्,’ भ्यु टावर रेखदेखमा खटिएका एक कर्मचारीले भने, ‘लिफ्ट बिग्रियो । आधा घण्टा मान्छे लिफ्टमै अड्किए । धन्न बनाउने मान्छे यतै रहेछन् ।’

दमक भ्यु टावर (बिजनेस कम्प्लेक्स) भव्य भए पनि अझै कस्तो व्यवसाय सञ्चालन गर्ने भन्ने मोडालिटी तयार भएको छैन । सरकारले विशिष्ट संरचनाको सञ्चालन र व्यवस्थापन निजी क्षेत्रलाई दिने गरी विकास समिति (गठन) आदेश जारी गर्दै विकास समिति बनाएपछि मात्र उक्त समितिले मोडालिटी तयार पार्ने सघन सहरी झापाका प्रमुख थिङले जानकारी दिए । 

सघन सहरीका अनुसार भ्यु टावरको प्रवेशसँगै मनोरञ्जनात्मक बगैँचा तथा बालबालिकाका लागि खेल्ने स्थान रहेको छ । भ्यु टावरमा ४० वटा चारपांग्रे सवारी र दुई सयवटा दुईपांग्रे सवारी पार्किङ गर्न मिल्ने सघन सहरीले जनाएको छ । यस्तै, पहिलो तलादेखि तेस्रो तलासम्म कमर्सियल रिटेल स्पेस, पाँचौँदेखि नौ तलासम्म कर्पोरेट स्पेस, दसौँदेखि १३औँ तलासम्म एक्जिबिसन र ग्यालरी तथा १४औँ र १५औँ तलामा रेस्टुरेन्ट र क्याफे चलाउन मिल्नेछ । त्यहाँदेखि माथि दृश्यावलोकन गर्न सकिने गरी निर्माण गरिएको हो । तर, सर्वसाधारणले भ्यु टावर चढेर दृश्यावलोकन गर्न कहिले पाउने हुन अन्योल छ  ।

सुझावित समाचार