पाथीभरामा केबलकार निर्माण विवाद, झडपमा चार घाइते

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

केबलकार निर्माण सुरु भएको तीन दिनपछि प्रहरी र केबलकार खारेजी माग गर्दै आएका समूहबिच फुङलिङ नगरपालिका– ११ को बलुडाँडामा झडप

प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबलकार बनाउने विवादले शनिबार पुनः उग्र रूप लिएको छ । केबलकार निर्माण सुरु भएको तीन दिनपछि प्रहरी र केबलकार खारेजी माग गर्दै आएका समूहबिच फुङलिङ नगरपालिका– ११ को बलुडाँडामा झडप भएको हो । झडपमा चारजना घाइते भएका छन् । 

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा प्रहरी र सशस्त्र प्रहरीले पाँच–पाँच सेल अश्रुग्यास प्रहार गरेका छन् । झडपमा दुई ग्रिनेट ग्याससमेत प्रहार गरिएको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले आक्रमण गरेको आन्दोलनरत पक्षको दाबी छ । 

प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार घाइते हुनेमा जनपथ प्रहरी जवान अनुज विक, प्रहरी सहायक निरीक्षक रामदेव यादव र सशस्त्र प्रहरी जवान सञ्जीव बस्नेत छन् । आन्दोलनरत पक्षले प्रहरीले गोली चलाएको र विशाल श्रेङ घाइते भएको बताएको छ । 

पाथीभरा क्षेत्रको बुलुडाँडा क्षेत्रमा केबलकार खारेजी समूहले विभिन्न घरेलु हतियार लुकाइ–छिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी त्यसतर्फ गएको र त्यसवेला पहिचानवादीले प्रहरीमाथि एक्कासि ढुंगामुढा गरेको प्रशासनको भनाइ छ । यो समूहले आफूलाई ज्यान मार्ने धम्की दिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । 

यसअघि कात्तिकमा पनि केबलकार निर्माणको विषयलाई लिएर झडप भएको थियो । गत मंगलबारदेखि केवलकार निर्माण सुरु भएको छ । हिमालयन कन्ट्रक्सनले १५ महिनाभित्र काम सक्ने बताएको छ । 
 

सुझावित समाचार