सत्यवती गाउँपालिका–४ का ५० बर्षीय चिरञ्जीवी क्षेत्री समृद्धिको सपना बोकेर ०५० सालमा गैरकानुनी रूपमा मलेसिया पनि पुगे। नेपालबाट थाइल्यान्डसम्म जहाज र त्यहाँबाट डुंगा चढेर मलेसिया पुग्न सहज थिएन। त्यो वेला क्षेत्री २० वर्षका थिए। ठुलो जोखिम मोलेर गन्तव्यमा पुगे।
परिवारको माया र साहुको काढेको ७० हजार क्रृणले महिनौँ तड्पायो। तर, कामअनुसार कमाई राम्रो हुँदै गयो। फर्किएपछि पुनः जान नपाइने भएकाले १० वर्ष मलेसियामै बिताए। कयौँ दसैँतिहार परिवारसँग रमाउन पाएनन्। गाउँमा फर्किदा द्वन्द्व सकिएको थिएन। तर, चिरञ्जीवी लाहुरको सपना त्यागेर फर्किएका थिए। ०६० सालमा गाउँ आएपछि बिहे गरे। अहिले दुई छोरी छन्। श्रीमती र आफूले कृषि कर्म गरेर रमाइरहेका छन्।
अहिले क्षेत्रीको खेत काउलीले डमक्क छ भने खुसीले मन गमक्क नहुने कुरै भएन। उनले मलेसियामा पनि कृषि काम गरेका थिए। गाउँ आएपछि सुरुमा व्यावसायिक फूल खेती गरे कमाई पनि राम्रो नै भयो। फूलको ऊर्जाको कारण क्षेत्रीले सिमी र खुसार्नी खेती गरे। कृषिमा सधैँ सफलता नहुनेमा क्षेत्री ढुक्क छन्। तर, उनी आफ्नो दैनिक उपभोग्य सामग्रीमा आत्मनिर्भर हुनुपर्नेमा जोड गर्छन्। क्षेत्रीले पहिलेका वर्षमा काउली थोरैथोरै बेचे। किनकि डोकोमा बोकेर खैरेनी र रुद्रवेणी पुर्याएपछि नबिक्ने कुरै हुन्थेन।
अहिले क्षेत्रीको खेतमा पाँच हजार काउली छन्। बजारभाउ कम छ। गाउँमै सयको तीन किलो बिक्री भइरहेको क्षेत्री बताउँछन्। उनले दुई गोपी काट्दा दुई सय पर्ने अवस्था रहेको बताए। एउटा गोपी तीन किलोसम्म रहेको छ। गाउँमा कसैले लगाएका छैनन्। अहिले खानकै लागि स्थानीयले लैजान्छन्। ‘७० र ८० क्विन्टल पक्कै हुन्छ। मूल्य पाउँदा चार लाख कमाउँछु नत्र ढाईदेखि तीन लाख पर्छ,’ उनले भने, ‘गाउँमै काम गरेर मज्जाले घरखर्च पुर्याएकोमा खुसी छु।’ भदौमा लगाएर पुसमै टिप्न पाएको भए राम्रो मूल्य पाउने भए पनि अहिले नराम्रो नभएको क्षेत्रीले बताए।
केही समयमा काउली निकालेर बेमौसमी काँक्रा र जेठमा वर्षे काँक्रा तथा अरू कृषिका कामहरू गर्दै जाने सोचमा क्षेत्री छन्। कृषि कर्मबाटै एक छोरीलाई बिएस्सी र एउटीलाई आइटी पढाइरहेका छन्।