प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास)ले शनिबारको कैदी आदानप्रदान कार्यक्रमअन्तर्गत चारजना इजरायली महिला बन्धकलाई रिहा गरेको छ।
बन्धकहरूलाई सुपुर्दगी गरिएको गाजाको एक चोकमा रेडक्रसका चारवटा गाडीमा इजरायलतर्फबाट करिब २०० प्यालेस्टिनीलाई ल्याई उनीहरू र चार इजरायली बन्धक महिलाको आदानप्रदान गरिएको एएफपीका एक संवाददाताले बताएका छन्। इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेबी र लिरी अल्बाग रहेका छन्।
कैदमा रहँदा अल्बाग १९ वर्षका भए भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन्। गाजामा हमाससँग भएको युद्धविराम सम्झौताअन्तर्गत इजरायली जेलमा आजीवन कारावासको सजाय काटिरहेका १२० सहित २०० प्यालेस्टिनी कैदीको बदलामा चारजना इजरायली बन्धक सैनिकलाई मुक्त गरिएको प्यालेस्टिनी स्रोतले जनाएको छ।
यस विषयमा सार्वजनिक रूपमा बोल्ने अधिकार आफूलाई नभएको बताउँदै नाम नबताउने सर्तमा स्रोतले भन्यो, 'यी कैदीहरूमध्ये १२० जना आजीवन कारावासको सजाय काटिरहेका छन्।'