भारतमा मल कारखाना संचालन गरिरहेको इण्डियन आयल कर्पोरेसनद्धारा आयल निगमलाई नेपालमा मल कारखाना खोले पाइपलाइनबाट प्राकृतिक ग्यास ल्याइदिने, सेयर लगानी गर्ने र बढी भएको मल भारतीय बजारमा बिक्रीको सुनिश्चितता गर्ने प्रस्ताव
नेपाल आयल निगम लिमिटेडले रासायनिक मल कारखानामा लगानी गर्न चासो देखाएको छ । निगमले पेट्रोलियम पदार्थ खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले भारतमा सन् २०१६ देखि मल कारखाना सञ्चालन गरिरहेको छ । आइओसीले नै नेपालमा मल कारखाना खोल्न सुझाउँदै आर्थिक तथा प्राविधिक सहायतासमेत उपलब्ध गराउने अनौपचारिक प्रस्ताव गरेको आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले जानकारी दिए ।
आइओसी मुख्य प्रवर्द्धक रहेको हिन्दुस्तान उर्वरक एवं रसायन लिमिटेडको गोरखपुरमा मल कारखाना छ । निगमले नेपालमा मल कारखाना खोल्न चाहे गोरखपुरसम्म आएको प्राकृतिक ग्यासको पाइपलाइनलाई विस्तार गरेर ल्याइदिने प्रस्ताव गरेको छ । निगम मुख्य प्रवर्द्धक रहेर मल कारखाना सञ्चालनको मोडालिटी अघि बढे आइओसीले समेत सेयर लगानी गर्न चाहेको भट्टले बताए । ‘आइओसीले प्राकृतिक ग्यासको पाइपलाइन गोरखपुरबाट नेपालको उद्योग खोल्ने स्थानसम्मै बिछ्याउने आकर्षक प्रस्ताव गरेको छ,’ कार्यकारी निर्देशक भट्टले भने, ‘त्यति मात्र होइन, नेपालमा खपत हुन नसकेको मल भारत लैजानेसमेत प्रस्ताव छ।’
रासायनिक मल कारखाना दिगो रूपमा सञ्चालन हुन वार्षिक कम्तीमा १० लाख टनको बजार सुनिश्चित हुनुपर्ने विभिन्न अध्ययनले देखाएका छन् । नेपालमा अहिले वार्षिक सात–आठ लाख टन मल खपत भइरहेको छ । त्यसैले बढी भएको उत्पादन भारततर्फ लैजाने कुराको सुनिश्चित हुनु राम्रो प्रस्ताव भएको भट्टले बताए ।
आइओसीले निगमलाई सात–आठ महिनाअघि नै मल कारखाना सञ्चालनका लागि प्रस्ताव गरेको थियो । तर, त्यतिवेला महŒव नदिएको आइओसीको प्रस्तावलाई निगमले अहिले गम्भीर रूपमा लिएको हो । लगानी बोर्ड र कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको अध्ययनमा पनि प्राकृतिक ग्यासको प्रयोगबाट मल कारखाना सञ्चालन सस्तो र दिगो हुने उल्लेख छ ।
आयल निगमले सोमबार दिउँसो मल कारखाना सञ्चालनका विषयमा आन्तरिक बैठकसमेत राखेको छ । त्यसपछि निगमको एउटा टोली गोरखपुरस्थित आइओसीले सञ्चालन गरेको मल कारखाना निरीक्षणमा समेत जाने तयारी छ । सो मल कारखाना भ्रमणका लागि आइओसीको नेपालस्थित कन्ट्री म्यानेजर निरुपम राइजादालाई सहजीकरण गर्न निगमले आग्रह गरिसकेको छ । निगमभित्र सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत मल कारखाना सञ्चालनका लागि छलफल भइरहेको छ ।
मल कारखानामा आइओसीको लगानी
नेपालमा मल कारखानामा लगानी गर्न आयल निगमलाई प्रस्ताव गरेको आइओसी हिन्दुस्तान उर्वरक एवं रसायन लिमिटेडको मुख्य प्रवर्द्धकमध्येको एउटा हो । जसको २९.६७ प्रतिशत सेयर लगानी छ । हिन्दुस्तान उर्वरकको गोरखपुर, बरौनी र सिन्द्रीमा तीनवटा प्लान्ट छन् । यी उद्योगबाट १७ राज्यमा रासायनिक मल आपूर्ति भइरहेको छ । यस कम्पनीले दैनिक २२ सय टन अमोनिया र ३८ सय ५० टन युरिया उत्पादन गर्ने क्षमता राख्छ ।
प्रधानमन्त्री ओलीले पनि गरेका छन् मल कारखाना खोल्ने संकेत
प्रधानमन्त्री केपी शर्मा ओलीले ४ माघमा जलविद्युत् उद्यमीको कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकभित्रै मल कारखाना खोल्ने संकेत गर्दै भनेका थिए, ‘फलाम खानी र मल कारखाना खुल्दै छ, ऊर्जा खपतका लागि चिन्ता लिनुपर्दैन ।’ लगत्तै ७ माघमा नवलपरासीको हुप्सेकोटस्थित धौबादी फलाम खानी पुगेर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निरीक्षण गरेका थिए भने मल कारखाना सञ्चालनको अवस्थाबारे जानकारी लिन आयल निगमको एउटा टोलीले गोरखपुरस्थित आइओसीको लगानी रहेको मल कारखानाको भ्रमणमा जाने योजना बनाएको छ ।