भारतको महाराष्ट्रस्थित जलगाउँमा बुधबार साँझ रेल दुर्घटनाका क्रममा मृत्यु भएका एक बालकसहित सातजना नेपालीको शव स्वदेश ल्याउने तयारी भइरहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार यसका लागि दिल्लीस्थित नेपाली राजदूतावासले भारत सरकारका अधिकारीसँग समन्वय गरिरहेको छ ।
बुधबार भएको उक्त रेल दुर्घटनामा सात नेपालीसहित १३ जना यात्रुको ज्यान गएको थियो । घटनामा घाइते भएका चार नेपालीको उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
घटनामा एकजना बाँके र बाँकी अछाम र कैलालीका नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार कैलालीका ४३ वर्षीया कमला भण्डारी र कैलालीकै ४० वर्षीय लक्षीराम पासीको मृत्यु भएको छ ।
अछाम मंगलसेनका ११ वर्षीय बालकसहित तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा मंगलसेनका ११ वर्षीय हिमु नन्दुराम विश्वकर्मा, ४४ वर्षीय नन्दरम पद्म विश्वकर्मा, ४२ वर्षीय मैसारा कामी विश्वकर्मा र अछाम मकमलबजारकी ६० वर्षीय जोक्ला उर्फा कला कामीको मृत्यु भएको छ । दुर्घटनामा बाँके डडुवाका ३२ वर्षीय राधेश्याम राधको पनि मृत्यु भएको छ ।
घटनामा चारजना नेपाली घाइते भएका छन् । घाइते अछाम मंगलसेनका ३८ वर्षीय ह्युजला सावन्त र आठ बर्षीय धर्मबहादुर सावन्त, दैलेख दुल्लुका मञ्जु परियार र दुल्लुकै १८ वर्षीय दीपक थापाको स्थानीय अस्पतालमा उपचार भइरहेको नेपाली राजदूतावासले जनाएको छ ।