बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बालविवाहमुक्त नेपालका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बालविवाहमुक्त नेपालका लागि जस्ट राइट्स फर चिल्ड्रेन इन नेपालका प्रतिनिधि तथा बालबालिकाहरूका अगाडि शुक्रबार प्रतिज्ञापत्रमा हस्ताक्षर गर्दै उनले प्रतिबद्धता जनाएका हुन्।
मुख्यमन्त्री लामाले आफू र आफ्नो सरकार बालविवाहमुक्त अभियानमा प्रतिबद्ध रहेको जनाउउँदै यसअघि नै बागमती सरकारले बालविवाहमुक्त गर्नका लागि नीति र कानुनहरू बनाइसकेको जानकारी गराए।
‘हामीले यसअघि नै कानुनहरू बनाइसकेका छौँ। स्थानीय तहहरूमा पनि नीति र कानुनहरू बनाउँदै छौँ,’ उनले भने, ‘कानुनी र संवैधानिक रूपमै हामी बालविवाहमुक्त प्रदेशका लागि प्रतिबद्ध छौँ।’
हस्तक्षर कार्यक्रममा सामाजिक अभियन्ताहरू बालकृष्ण पाण्डे, डा. गंगाधर अधिकारी र देवकी रेग्मीलगायत सहभागी थिए । सन् २०३० सम्म बालविवाहमुक्त नेपाल घोषणा गरिसक्नका लागि गत १६ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेर अभियानको सुरुवात गरेका थिए ।
यस्तै, संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा सातै प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरूले संयुक्त रूपमा राष्ट्रिय अभियानको यसअघि नै सुरुवात गरिसकेका छन् । विश्वव्यापी रूपमा सञ्चालित यो अभियान तीन महादेशका करिब २८ राष्ट्रहरूमा चलिरहेको छ।