बाँके र बर्दियालाई कर्णालीमा गाभ्न साथ दिने प्रचण्डको आश्वासन

शुक्रबार, ११ माघ, २०८१
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने विषयमा उठेको आवाजलाई सम्बोधन गर्ने बताएका छन् । बिहीबार नेपालगन्जमा सुरु भएको प्रादेशिक महोत्सव उद्घाटनका क्रममा उनले यो विषयलाई राजनीतिक दलका बिचमा राख्ने बताएका हुन् ।

उनले पछिल्लो समय बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने आवाजबारे जानकार रहेको बताउँदै १० वर्षपछि संविधान र प्रदेश हेरफेर गर्ने राजनीतिक दलबिच पहिले नै सहमति भएकाले दलहरूबिच प्रस्ताव राख्ने प्रस्ट पारे । 

नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा बिहीबारदेखि प्रादेशिक महोत्सव आयोजना गरेको छ । महोत्सव उद्घाटन गर्दै उनले भने, ‘बाँके र बर्दियालाई लुम्बिनी प्रदेशमा राख्दा नेपालगन्ज ओझेलमा परेको महसुस गरेको थिएँ । संघीयतापछि नेपालगन्जको साख गुमेको छ । यसको साखलाई पुनर्जीवित गर्न जुन आवाज उठेको छ, यसप्रति गम्भीर छु ।’ सो अवसरमा प्रतिनिधिसभा सदस्य एवं कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले नेपालगन्जको स्वरूप फेरिएको बताउँदै आर्थिक मन्दी नेपालगन्जमा मात्र नभई सिंगो देशमा भएकाले हरेस नखान आग्रह गरे । 

यस्तै, प्रतिनिधिसभा सदस्य दीपा शर्माले संघीयताको खाका निर्माण गर्ने क्रममा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा राख्ने माग उठे पनि राजनीतिक दलको सहमतिमा लुम्बिनी प्रदेशमा राखिएको बताइन् । उनले संविधान संशोधन गर्ने बहस चलिरहेको बताउँदै यस विषयमा संसद्ले उचित निर्णय गर्ने धारणा राखिन् ।

नेपालगन्जका मेयर प्रशान्त विष्टले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभे मात्र नेपालगन्जको विकास हुने धारणा राखे । उनले संघीयतापछि नेपालगन्जमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय अन्यत्र सरेको बताउँदै उद्योगधन्दासमेत धराशयी भएको बताए । ‘बाँके र बर्दियालाई कर्णालीमा गाभे मात्र नेपालगन्जको उत्थान सम्भव छ,’ उनले भने । 
 

See More On

सुझावित समाचार