समूह चरणबाट बाहिरिएको नेपालले अब विश्वकपअन्तर्गत प्लेअफको १३–१६ स्थानका लागि प्रतिस्पर्धा गर्ने
नेपाली राष्ट्रिय महिला टोली आइसिसी यू–१९ विश्वकपबाट बाहिरिएको छ । समूह ‘डी’को आफ्नो अन्तिम खेलमा बुधबार नेपाल उपाधि दाबेदार अस्ट्रेलियासँग ८३ रनको फराकिलो अन्तरले पराजित भयो । नेपालले प्लेअफ स्थानको आशा बलियो बनाउन अस्ट्रेलियालाई हराउनैपर्ने थियो । तर, महŒवपूर्ण खेलमा ब्याटिङ र बलिङमा चुकेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । अब नेपालले प्लेअफका लागि १३–१६ स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । प्लेअफमा अहिलेसम्म नेपाल र पाकिस्तानबाहेक थप दुई टोलीको टुंगो लाग्न बाँकी छ ।
समूह चरणको खेलमा पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । त्यसपछि स्कटल्यान्डसँग एक विकेटले स्तब्ध हुँदा नेपाल गणतीय आधारमा मात्र प्लेअफमा पुग्ने सम्भावना रह्यो । नेपालको यो पहिलो विश्वकपमा सहभागिता हो । गत कात्तिकमा युएईलाई हराउँदै नेपाली महिला युवा टोलीले मलेसियामा चलिरहेको विश्वकपमा स्थान सुरक्षित गरेका थियो । एसिया छनोटमा कुवेत, थाइल्यान्ड र युएईलाई पछि पार्दै नेपाल विश्वकपमा पुगेको हो । सन् २०२३ को पहिलो संस्करणको एसियन छनोटमा युएईसँग पछि पर्दा नेपालले विश्वकपमा स्थान बनाउन सकेन ।
डेब्यु विश्वकपमा नेपालले आफ्नो यात्रा सुखद बनाउन सकेन । लगातार तेस्रो जितसँगै अस्ट्रेलिया समूह ‘डी’को विजेता र बंगलादेश उपविजेताका रूपमा सुपर सिक्समा पुगेका छन् । समूहमा तेस्रो हुँदै स्कटल्यान्ड पनि सुपर सिक्समा पुगेको छ । नेपालमाथिको एक मात्र जितले स्कटल्यान्ड सुपर सिक्समा पुगेको हो । अस्ट्रेलियाले स्कटल्यान्डलाई नौ र बंगलादेशलाई दुई विकेटले हराएको थियो ।
ब्याटिङ नै नेपालको समस्या
नेपाल विश्वकपको समूह चरणबाटै बाहिरिनुको प्रमुख कारण नै ब्याटिङ हो । तीनवटै खेलमा नेपाली खेलाडीले स्तरीय प्रदर्शन गर्न सकेनन् । अस्ट्रेलियाका अनुभवी बलरले नेपाली खेलाडीमाथि सुरुवातदेखि नै दबाब राखेका थिए । मलेसियाको वान्गीमा पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेट गुमाएर १३९ रनको दरिलो योगफल बनाएको थियो । नेपालको नजरमा अस्ट्रेलियाले प्रस्तुत गरेको लक्ष्य पहाडजस्तै हो । यसअघिका दुई खेलमा नेपालले सय रन पनि कटाएको थिएन । फेरि अस्ट्रेलियन सिमर फर्ममा रहँदा नेपाललाई सुरुवातदेखि नै लक्ष्य पछ्याउन कठिनजस्तै देखिएको थियो । नेपालले पूरै २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर ५६ रन मात्र जोड्यो ।
कप्तान पूजा महतोले मात्र नेपालको ब्याटिङमा सर्वाधिक १८ रनको योगदान दिइन् । उनले ४२ बल सामना गरे पनि बाउन्ड्री लगाउन सकिनन् । यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ज्योत्स्निका मरासिनी र कृष्णा गुरुङ डकआउट भए । अस्ट्रेलियाका लागि लिली, जुलिएट मोर्टन र हसरत गिलले समान दुई विकेट लिएका थिए ।
नेपालको ब्याटिङमा पूजा र सिमाना केसीबिच चौथो विकेटका लागि सर्वाधिक १५ रनको साझेदारी भएको थियो । यसबाहेक अन्य कुनै पनि विकेटका लागि गतिलो साझेदारी भएन । नेपालले ५४ रनको योगफलमा तीन विकेट गुमाएको थियो । १७.१ ओभरमा पूजा र १७.५ ओभरमा तिर्सना विश्वकर्माको विकेट गुमेको थियो । इनिङ्सको १८.३ ओभरमा अलिशा यादव र १८.४ ओभरमा करिश्मा गुरुङले विकेट गुमाउँदा नेपालले आठ विकेट गुमाएर ५८ रन मात्र जोडेको थियो ।
यसअघि अस्ट्रेलियाका लागि चौथो नम्बरमा क्रिजमा आएकी काओमहे ब्रेले ३४ बलमा समान तीन चौका र छक्कासहित सर्वाधिक ४५ रनको योगदान दिएकी थिइन् । एलेनोर लारेसाले ३१, हसरत गिलले अविजित ३० र क्लो एन्वर्थले अविजित १६ रन बनाएका थिए । २.५ ओभरमा १४ रन बनाउँदा तीन विकेट गुमाएपछि अस्ट्रेलिया दबाबमा आएको थियो । तर, ब्रेले र लारेसाले अस्ट्रेलियाको इनिङ्स सम्हाले । पूजा महतोले सर्वाधिक तीन विकेट हात पारिन् । सिमाना केसीले दुई र रिया शर्माले एक विकेट लिएका हुन् ।