घाटामा कांग्रेस : बढ्दो खर्च, घट्दो आम्दानी !

मंगलबार, ८ माघ, २०८१
डिजिटल संस्करण

सत्तारूढ कांग्रेस तीन वर्षदेखि लगातार घाटामा चलेको छ । तीन वर्षको लेखापरीक्षण प्रतिवेदनले कांग्रेसको आम्दानीभन्दा खर्च बढी देखिएको हो । 

कांग्रेसले हालै आर्थिक वर्ष ०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार उसले आव ०८०/८१ मा दुई करोड ५९ लाख ८ हजार ७ सय ७५ रुपैयाँ ५५ पैसा आम्दानी गरेको देखिन्छ । सदस्यता, लेबी र सदस्यता नवीकरण शुल्कबापत ७१ लाख ९८ हजार १ सय ६३ रुपैयाँ, चन्दाबापत १ करोड ७३ लाख ९४ हजार ४ सय ३९ रुपैयाँ, प्रकाशन बिक्रीबाट १८ हजार २ सय र व्याजबापत १२ लाख ९७ हजार ९ सय ७३ रुपैयाँ ५५ पैसा आम्दानी गरेको थियो ।

यस आवमा ४ करोड ९१ लाख ५६ हजार ३ सय ७५ रुपैयाँ खर्च भएको देखिन्छ । जसमा तीनै तहको निर्वाचनमा ३ करोड ८८ लाख ५७ हजार ९ सय ९३ रुपैयाँ भएको खर्च समेटिएको छ । कार्यालय सञ्चालनमा ४ करोड ५४ लाख ६७ हजार नौ १ सय रुपैयाँ र ह्रासकट्टी तथा अपलेखनबापत ३६ लाख ८८ हजार ४ सय ७५ रुपैयाँ खर्च भएको देखिन्छ । 

गत वर्ष फागुन (७ देखि १० सम्म)मा भएको महासमिति बैठकमा कांग्रेस लेखा समिति संयोजक श्यामकुमार घिमिरेले आव ०७८/७९ र ०७९/८० को लेखापरीक्षण प्रतिवेदन पेस गरेका थिए । जसअनुसार आव ०७८/७९ मा कांग्रेसको आम्दानी १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ थियो । सदस्यता, लेबी र नवीकरण शुल्कबापत ७ करोड ४३ लाख ३ हजार ५ सय १ रुपैयाँ, चन्दाबापत ६ करोड ६८ लाख २४ हजार रुपैयाँ, प्रकाशन बिक्रीबाट ११ लाख ४९ हजार ४ सय र ब्याजबापत ६७ लाख १७ हजार १ सय ८५ रुपैयाँ आम्दानी गरेको थियो ।

यस आवमा १७ करोड ९० लाख ७८ हजार २ सय २२ रुपैयाँ खर्च भएको थियो । कांग्रेसको १४औँ महाधिवेशनका लागि १२ करोड २१ लाख ९७ हजार ७ सय ७ रुपैयाँ खर्च भएको थियो । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एक करोड १५ लाख ६५ हजार २ सय १० रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । 

आव ०७९/८० मा कांग्रेसले ३ करोड ६४ लाख ७६ हजार २ सय ७० आम्दानी गरेको देखिन्छ । सदस्यता, लेबी र नवीकरण शुल्कबापत ५७ लाख ६० हजार ८ सय रुपैयाँ, चन्दा तथा सहयोगबापत २ करोड ६५ लाख ६४ हजार ५ सय ७७ रुपैयाँ, प्रकाशन बिक्रीबाट ९४ हजार ६ सय पचास रुपैयाँ, लिलाम बिक्रीबापत २ लाख २५ हजार रुपैयाँ र ब्याज आम्दानीबापत ३८ लाख ३१ हजार २ सय ७० रुपैेयाँ आम्दानी गरेको थियो । सो आवमा ७ करोड ९९ लाख ९५ हजार १ सय २१ रुपैयाँ खर्च भएको थियो । जसमा निर्वाचन खर्चबापत ३ करोड ८८ लाख ५७ हजार ९ सय ९३ रुपैयाँ, कार्यालय सञ्चालनमा ३ करोड २२ लाख ५० हजार ४ सय ३२ रुपैयाँ, भ्रातृ संगठनसम्बन्धी खर्चबापत ४९ लाख ६० हजार रुपैयाँ र ह्रासकट्टी तथा अपलेखनबापत ३९ लाख २६ हजार ६ सय ९६ रुपैयाँ खर्च भएको देखिन्छ ।

आव ०७८/७९ मा जगेडा कोषको ६ करोड ९६ लाख ५९ हजार १ सय २३ रुपैयाँ रेहकोमा मा ०७९/८० मा घटेर २ करोड ६१ लाख ४० हजार रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । आव ०७८/७९ मा मा कुल स्थिर सम्पत्ति पाँच करोड ७६ लाख ३७ हजार ६ सय ७० रुपैयाँ रहेकोमा आव ०७९/८० मा ह्रासकट्टी भई पाँच करोड ५३ लाख ५५ हजार ७ सय ११ रुपैयाँ कायम भएको थियो । ११ वटा बैंकमा १७ वटा खाता रहेको कांग्रेस प्रतिवेदनमा उल्लेख छ । जसमा ८४ लाख ९३ हजार ४ सय ६९ रुपैयाँ ३६ पैसा मौज्दात छ ।

कांग्रेस लेखा समिति संयोजक श्यामकुमार घिमिरे भन्छन्–खर्च र आम्दानीको सन्तुलन नमिल्दा पार्टी लगातार घाटामा छ
तीन वर्षदेखि कांग्रेस घाटामै छ । हाम्रो आम्दानी भनेको पार्टीको क्रियाशील सदस्यता, सांसदको लेबी हो । क्रियाशील सदस्यताको शुल्क महाधिवेशनको समयमा आउँछ ।

लेबी मात्रले त्यो पूर्ति हुँदैन । घाटा पूर्तिका लागि चन्दा संकलन गर्छौँ, साथीभाइ गुहार्छौँ । यसबिचमा पार्टीको महाधिवेशन र आमनिर्वाचन भयो, जसले गर्दा खर्च र आम्दानीको सन्तुलन हुन सकेन । घाटा पूर्तिका लागि पार्टीले प्रयास गरिरहेको छ ।

सुझावित समाचार