साउदी अरबले माघ १६ र १७ (जनवरी २९ र ३०)मा विश्व लेबर मार्केट सम्मेलनको दोस्रो संस्करण आयोजना गर्ने भएको छ। साउदी अरबको राजधानी रियादमा हुने सम्मेलनमा ४५ देशका श्रममन्त्रीको सहभागिता रहनेछ।
सम्मेलनमा अमेरिका, युरोप, एसिया, मध्यपूर्व र अफ्रिकी देशका मन्त्री र प्रमुख विशेषज्ञहरू सहभागी हुने बताइएको छ। साउदी अरबका मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद अल–राझीको अध्यक्षतामा आयोजना हुने सम्मेलन भविष्यमा अपनाउने नीतिहरू र श्रम बजारको प्रवृत्तिमा केन्द्रित रहनेछ।
सम्मेलनले युवा रोजगारीसँग सम्बन्धित चुनौतीहरूलाई सम्बोधन गर्ने र विश्वव्यापी अर्थतन्त्रमा युवा सहभागिता बढाउने उद्देश्यमा केन्द्रित भएर छलफल हुनेछ। सम्मेलनले रोजगारीको विषयलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय पहललाई एकीकृत गर्ने, तीव्र आर्थिक र प्राविधिक परिवर्तनलाई ध्यानमा राख्दै श्रम बजारको विकसित आवश्यकतासँग जोडेर नीतिहरू बनाउने गरी छलफललाई जोड दिनेछ।
साउदी अरबका श्रम एवं मानव संसाधन तथा सामाजिक विकास उपमन्त्री डा. अब्दुल्ला अबुथनाइनले सम्मेलनमा क्षमता, ज्ञान र विशेषज्ञताको फाइदा उठाउन नीति तथा कानुन निर्माण गर्न, कामको वातावरण सुधार गर्न र सहकार्य गर्न मञ्चको रूपमा रहने बताएका छन्। सम्मेलनले तय गर्ने नीतिहरूले वर्तमान समयमा रहेको श्रमसम्बन्धी चुनौतीहरूलाई सम्बोधन गर्ने भएकाले साउदी मात्र नभएर समग्र विश्वबजारमा पनि सकारात्मक प्रभाव पार्ने उपमन्त्री अब्दुल्लाहले बताएका छन्।
ग्लोबल लेबर मार्केट सम्मेलन अन्तर्राष्ट्रिय श्रम संगठन, विश्व बैंक, संयुक्त राष्ट्र विकास कार्यक्रम, आर्थिक सहयोग र विकास संगठन र मिस्क फाउन्डेसनको साझेदारीमा आयोजना हुन लागेको हो। सम्मेलनमा सयभन्दा बढी देशहरूका दुई सयभन्दा बढी वक्ताहरूको सहभागिता रहनेछ। श्रम बजारको भविष्यबारे विश्वव्यापी छलफल गर्न, अनुसन्धान, संवाद र ज्ञान–साझेदारीको प्लेटफर्मको रूपमा सम्मेलन स्थापित हुने र विश्वव्यापी श्रम बजारको अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा आयोजकले गरेको छ।
नेपाल पनि सहभागी हुने
सम्मेलनको दोस्रो संस्करणमा नेपालले पनि सहभागिता जनाउँदै छ। नेपाली दूतावासका नियोग उपप्रमुख डा. डमरुबल्लभ पौडेलका अनुसार नेपालबाट श्रममन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ।
विश्वबजारमा नेपाली श्रमिकको संख्या पनि ठुलो भएकाले सम्मेलनमा नेपालको सहभागिता रहने र नेपाली श्रमिकको सवालमा नेपालले प्राथमिकताका साथ आफ्नो धारणा राख्ने उपप्रमुख डा. पौडेलले बताए। दूतावासले सम्मेलनमा सहभगिताका निम्ति आन्तरिक तयारी पनि थालिसकेको छ। सम्मेलनको पहिलो संस्करणमा पनि नेपालबाट तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारी सहभागी भएका थिए।