युद्धविराम : अन्त्यहीन संघर्षमा अस्थिर शान्ति

शुक्रबार, ४ माघ, २०८१
डिजिटल संस्करण

जबसम्म न्याय स्थापित हुँदैन, इज्जत र समानता टाढाका सपना मात्र रहन्छन्, तबसम्म हिंसाको चक्र निरन्तर चलिरहन्छ

गाजामा युद्धविरामको घोषणा जारी संघर्षमा एक महत्वपूर्ण क्षण हो । मेरा लागि यो आँधीको पूर्वाद्र्धजस्तै हो, अर्थात् अस्थायी शान्ति तर चारैतिर विनाश र अराजकताको वातावरण । यो युद्धविरामले रगतको भेल बग्नबाट त रोक्छ, तर हामीले गुमाएका प्रियजन कहिल्यै फर्काउँदैन र यसले बनाएका घाउ कहिल्यै निको हुनेछैनन् । आखिर युद्धविरामले यो कहिल्यै निको नहुने घाउलाई कसरी नै पो सन्चो पार्न सक्छ र ?

युद्धविरामलाई प्रायः कूटनीतिक सफलताका रूपमा हेरिन्छ, तर मेरा लागि यो एक अन्त्यहीन दुःस्वप्नको अस्थायी विरामजस्तो मात्र हो । युद्धविरामको पछिल्लो सहमतिले गाजामा जीवन निकै कमजोर राजनीतिमा निर्भर छ भन्ने कठोर यथार्थलाई झल्काउँछ । बालबालिका, आमाबाबुले अनिश्चितताको भारी बोकेर बाँच्नुपरेको छ । यो शान्तितर्फको कदम हो कि न्याय ढिल्याउने र पीडा लम्ब्याउने अर्को अध्याय हो ? 

अन्तर्राष्ट्रिय दबाबमा सम्भव भएको यो युद्धविराममा आक्रमण रोक्ने र मानवीय सहायता पुर्याउने प्रावधान जसको निःसन्देह आवश्यकता छ, तर यस्ता उपायको आवश्यकता नै वास्तवमा विश्व समुदायको ढिलासुस्ती र असफलताका कारण उब्जेको हो । सहयोग महत्वपूर्ण छ, तर यसले उत्पीडनका घाउ निको पार्न सक्दैन र अस्थायी शान्तिले स्वतन्त्रता एवं अस्तित्वको अधिकारको सपनालाई कहिल्यै प्रतिस्थापित गर्न सक्दैन ।

अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे) र अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)जस्ता अन्तर्राष्ट्रिय निकाय र तिनका पक्राउ पुर्जी, जसले हामीविरुद्धका अपराधलाई सम्बोधन गर्नुपर्ने थियो, ती राजनीतिक निष्क्रियताले छायामा पारेका छन् । के युद्धपछि यी प्रणालीलाई उपयोग गरिनेछ वा यो न्याय कर्मचारीतन्त्रको रबैया र उदासीनताको पहाडमुनि गाडिनेछ ? संघर्षअघि, संघर्षका क्रममा र पछि जवाफदेही हुननपर्ने अवस्थाले यी संस्थाका गम्भीर कमजोरी उजागर गरेको छ । के प्यालेस्टिनीले कहिल्यै आफ्नो राजनीतिक र कूटनीतिक न्यायको मार्गमा पूर्ण नियन्त्रण पाउनेछन् वा सधैँ पीडितका रूपमा परिभाषित हुँदै राजनीतिक मञ्चबाट किनाराकृत हुनेछन् ? गाजाका प्यालेस्टिनीका लागि नाकाबन्दी आफैँमा एउटा युद्ध हो, जहाँ बमविनाको हिंसा हुन्छ, तर बमजत्तिकै विनाशकारी छ । १७ वर्षदेखि जारी नाकाबन्दीले जीवनको संरचना नै ध्वस्त बनाएको छ, परिवारले धेरै गुमाएका छन्, आममानिस आधारभूत अधिकारबाट वञ्चित भएका छन् र जनता मानवीय सहनशीलतालाई चुनौती दिँदै दैनिक संघर्ष गर्नुपर्ने बाध्यतामा छन् । यस्तो अवस्थामा जब युद्धविराम जुनसुकै वेला भत्कन सक्छ, हामी जीवनलाई पुनः निर्माण कसरी गर्न सक्छौँ ? अहिलेको अनन्त शोकमा जेलिएको जीवनबाट भविष्यको सपना कसरी देख्न सक्छौँ ?

युद्धका क्रममा प्यालेस्टिनी शरणार्थीका लागि खुलेको नियोग युएनआरडब्लुएको वित्तीय सहायता रोक्नुले मानवीय संकटलाई अझ गम्भीर बनाएको थियो । अन्तर्राष्ट्रिय समुदाय, जसमा राष्ट्रसंघ, जी–८ र ब्रिक्ससमेतले यस्ता जीवनरक्षक सहायता पुनस्र्थापना गर्न नसक्नुले नागरिकको सुरक्षा र मानवीय कानुनको रक्षा गर्न असफल भएको स्पष्ट पार्छ । जब पहिल्यै कमजोर सामाजिक सुरक्षाविना कुनै ठोस विश्वव्यापी प्रतिरोध मनलाग्दी हटाइन्छ भने के हुन्छ ? विशेषतः पश्चिमा शक्तिले हिंसाको यो चक्रलाई कायम राख्नमा भूमिका निभाएका छन् । युद्धविरामको समर्थनमा आएका वक्तव्य ठोस कदम, जवाफदेही, नागरिक सुरक्षा र समस्याको मूल कारण अर्थात् शक्ति असन्तुलन, कब्जाको तिक्त यथार्थ र सास अँठ्याउने नाकाबन्दीलाई सम्बोधन नभएको खण्डमा खोक्रो लाग्छ । के हामी त्यही अमेरिकी प्रशासनमा विश्वास गर्न सक्छौँ, जसले यस युद्धविरामको दबाब बनाएको थियो, जबकि यसको क्रियाकलापले क्षेत्रीय शान्तिलाई निरन्तर असफल बनाइरहेको छ । राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको यसअघिको प्रशासनले इजरायलको राजधानीका रूपमा जेरुसेलममा अमेरिकी दूतावास सार्ने र गोलान हाइट्सलाई इजरायलको हिस्सा मान्ने निर्णयले न्यायभन्दा शक्तिलाई प्राथमिकता दिने एजेन्डाको स्पष्ट सम्झना दिलाउँछ । ट्रम्पको नयाँ प्रशासनले वेस्ट बैंकमा ध्यान केन्द्रित गर्न सक्नेछ र त्यहाँ पनि उही हिंसा र विस्थापनका नीति लागू गर्ने भय कायमै छ । अर्थात्, हिंसामा अस्थायी विरामको अर्थ नीति र प्राथमिकतामा परिवर्तन नभएको भन्ने देखिन्छ । 

जब म यो क्षणलाई पर्गेलिरहेकी छु, म आशा र क्रोध दुवैको अनुभव गर्छु । आशा भनेको यो अस्थायी विरामले जीवन जोगाउन सक्छ र क्रोध केमा छ भने यो कमजोर बिन्दुमा पुग्न हामीले अथाह पीडाको सामना गर्नुपर्यो । चाँडै नै क्यामेराहरू पल्टिनेछन्, समाचार हराउनेछन् र विश्वको ध्यान सर्नेछ, तर हाम्रा लागि यो अन्त्य होइन । युद्धविराम शान्ति होइन । यी निरन्तर आँधीमा शान्तिका क्षण मात्रै हुन् । जबसम्म न्याय स्थापित हुँदैन, जबसम्म इज्जत र समानता टाढाका सपना मात्र रहन्छ, हिंसाको चक्र निरन्तर चलिरहनेछ । 

मेरो आशय यो युद्धविरामको महत्वलाई कम गर्नु भने होइन, किनभने हरेक दिन मृत्युको त्रासमा बाँच्न अभिशप्तका लागि यो जीवन र मरणको सवाल हो । तर, म एक प्यालेस्टिनीका रूपमा शान्ति केवल युद्धको अभाव होइन भन्ने गम्भीर सत्यलाई अनदेखा गर्न सक्दिनँ । वास्तवमा शान्ति न्यायको उपस्थिति हो । शान्तिविनाको भय बाँच्ने स्वतन्त्रता हो, विनाशको निश्चितता पुनर्निर्माण गर्ने र असीमित सपना देख्ने स्वतन्त्रता हो । यसबाहेक शान्तिको अन्य परिभाषा ल्याइन्छ भने त्यो शान्ति होइन, त्यो त केवल अस्तित्व हो । र, अस्तित्व मात्रै हाम्रा लागि पर्याप्त छैन, अर्थात् हामी साँचो अर्थको शान्ति चाहन्छौँ ।

(अल–नज्जर गाजामा आधारित प्यालेस्टिनी पत्रकार हुन्) 
अल जजिराबाट

 

सुझावित समाचार