इजरायल–हमासबिच युद्धविराम

बिहिबार, ३ माघ, २०८१
डिजिटल संस्करण
इजरायल–हमासबिच युद्धविराम

गाजामा जारी लडाइँ रोक्ने र चरणबद्ध रूपमा इजरायली बन्धक तथा प्यालेस्टिनी कैदीहरूको रिहाइ गर्ने सहमति भएपछि खुसियाली मनाउँदै बन्धक बनाइएकाहरूका आफन्त इजरायलको तेल अभिभमा ।

हस्ताक्षर हुन बाँकी सम्झौताअनुसार पहिलो चरणमा बन्धकहरूको रिहाइ गरिने, १६औँ दिनबाट युद्धको स्थायी अन्त्य गर्ने गरी दोस्रो चरणको वार्ता सुरु गर्ने सहमति

इजरायली सरकार र प्यालेस्टिनी सशस्त्र समूह हमासबिच गाजामा जारी लडाइँ रोक्ने र चरणबद्ध रूपमा इजरायली बन्धक तथा प्यालेस्टिनी कैदीहरूको रिहाइ गर्ने सहमति बनेको छ । हस्ताक्षर हुन बाँकी सम्झौता कार्यान्वयन भए गाजामा एक वर्षभन्दा बढी समयदेखि जारी इजरायली बमबारीसहितका सैन्य कारबाही रोकिनेछन् ।
सम्झौता आइतबारबाट कार्यान्वयन हुने सम्भावना रहेको स्रोतलाई उल्लेख गर्दै सिएनएनको अनलाइन संस्करणले लेखेको छ । सम्झौताको पहिलो चरणमा बन्धकहरूको रिहाइ भए पनि १६औँ दिनबाट युद्धको स्थायी अन्त्य गर्ने गरी दोस्रो चरणको वार्ता सुरु गरिने सहमति भएको स्रोतले बताएका छन् । 

कतारकै मध्यस्थतामा उसकै भूमिमा इजरायल र हमासका प्रतिनिधि केही दिनदेखि वार्तामा छन् । अर्को साता अमेरिकामा डोनाल्ड ट्रपले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै छन् । राष्ट्रपति जो बाइडेन आफ्नै कार्यकालमा युद्धविराम गराउने प्रयासमा छन् । 

युद्धविरामका लागि दुई पक्षबिच भएको सम्झौताअनुसार हमास र उसका सहयोगी लडाकु समूहहरूले पहिलो चरणमा ७ अक्टोबर २०२३ को आक्रमणको क्रममा इजरायलबाट कब्जा गरिएका ३३ बन्धकलाई रिहा गर्ने अपेक्षा गरिएको छ । यद्यपि, तीमध्ये कति जीवित छन् भन्ने यकिन छैन । त्यसको बदलामा इजरायलले उसका जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ । 

सम्झौता कार्यान्वयनमा गएपछि प्यालेस्टिनी नागरिकलाई उत्तरी गाजामा फर्कने अनुमति दिइनेछ । त्यहाँका बासिन्दाले लामो समयदेखि गम्भीर मानवीय अवस्थाको सामना गरिरहेका छन् । सम्झौताले गाजापट्टीमा मानवीय सहायताको ठुलो प्रवाह हुने अन्तर्राष्ट्रिय समुदायको अपेक्षा छ ।

हमास नेतृत्वले सम्झौता अनुमोदन गरिसकेको जवाफ वार्ताको मध्यस्थ गरिरहेका कतारी अधिकारीलाई दिएको हमासका वरिष्ठ नेता बासेम नैमलाई उद्धृत गर्दे सिएनएनले लेखेको छ । एउटा छुट्टै विज्ञप्तिमा हमासले प्रस्तावित सम्झौताबारे सहयोगी लडाकु समूहहरूसँग परामर्श गरेको बताएको छ । 

उता नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इजरायल र हमासबिच बन्धक सम्झौता भएको बताएका छन् । ट्रम्पले बन्धक सम्झौता भएकाले हमासको नियन्त्रणमा रहेका बन्धकहरूलाई ‘चाँडै रिहा’ गरिने बताए । ‘मध्यपूर्वमा बन्धक सम्बन्धमा सम्झौता भएको छ । उनीहरूलाई छिट्टै रिहा गरिनेछ । धन्यवाद !’ ट्रम्पले उनकै स्वामित्वमा रहेको सामाजिक संजाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै लेखेका छन् । 

सन् २०२३ अक्टोबरमा हमासले आकस्मिक आक्रमण गरेर ११९५ नागरिकको हत्या र २५१ जनालाई अपहरण गरेर गाजा लगेपछि पछिल्लो युद्ध सुरु भएको थियो । जवाफमा इजरायलले निरन्तर गाजामाथि बमबारी गरिरहेको छ । त्यसमा ४६ हजारभन्दा बढी गाजावासी मारिइसकेका छन् । 

(एजेन्सीको सहयोगमा)

सुझावित समाचार