इन्स्पेक्टरको घुस मुद्दामा प्रतिकूल बकपत्र गर्नेविरुद्ध मुद्दा दायर

बुधबार, २ माघ, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक(इन्स्पेक्टर) बुद्धिप्रसाद सुवेदीको घुससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र गर्नेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिका वडा नम्बर बस्ने चन्दनकुमार मिश्रविरुद्ध बुधबार मुद्दा दायर गरेको हो। 

मिश्रसँग ९९ हजार घुस लिएको भन्ने  निवेदनकै आधारमा अख्तियारले इन्स्पेक्टर सुवेदीविरुद्ध मुद्दा दायर गरेको थियो। प्रारम्भिक रूपमा प्रहरीले नै अनुसन्धान गर्दा घुस लिएको पुष्टि भएपछि प्रहरीले निलम्बन गरी त्यससम्बन्धी फाइल अख्तियारमा बुझाएको थियो। गत २७ भदौमा अख्तियारले पीडितलाई साक्षी बनाएर इन्स्पेक्टरविरुद्ध सजाय माग गरी मुद्दा दायर गरेको थियो। 

साक्षी रहेका मिश्रले पछि विशेष अदालतमा इन्स्पेक्टर सुवेदीलाई फाइदा हुने गरी बकपत्र गरेपछि आयोगले उनलाई पनि प्रतिवादी बनाएको हो। प्रतिकूल बकपत्र गर्नु गर्दा भ्रष्टाचार मुद्दा आकर्षित हुने कानुनी व्यवस्था छ। 

सुझावित समाचार