पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) शुक्रबारदेखि दशरथ रंगशालाको कभर्डहलमा सुरु हुँदै छ । लिगमा सहभागी ६ फ्रेन्चाइज टोलीले ड्राफ्टबाट खेलाडी छनोट गरिसकेका छन् । आयोजकका अनुसार लिगमा स्वदेशी ६६ र विदेशी १८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विदेशी खेलाडीमा थाइल्यान्ड र बंगलादेशबाट सर्वाधिक समान ६ खेलाडी छन् । श्रीलंका र केन्याबाट समान तीन खेलाडीले भाग लिनेछन् । हरेक टोलीमा स्वदेशी र विदेशी गरी १४ खेलाडी हुने आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमितकुमार बेगानीले बताए ।
‘पहिलोपटक हुन गइरहेको नेपाल कबड्डी लिगलाई व्यावसायिक बनाउने क्रममा हामीले विदेशीलाई पनि समावेश गरेका छौँ, यसपटक थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्याका राम्रा खेलाडी सहभागी फ्रेन्चाइज टोलीले अनुबन्ध गरेका छन्,’ बेगानीले भने, ‘अन्तर्राष्ट्रिय लेभलको राम्रो अनुभव बटुलेका खेलाडीसँग घरेलु खेलाडीले एक्सपोजर प्राप्त गर्न सक्ने विश्वास छ ।’
पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टोलीको टुंगो लाग्नेछ । लिगमा कुल १९ खेल हुनेछन् । काठमाडौं र पोखराबिच उद्घाटन खेल हुनेछ ।
पहिलो संस्करणमा तीन करोड खर्च
पहिलो संस्करणको कबड्डी लिग आयोजनामा एक्ट्रोनिक्स म्यानेजमेन्टले तीन करोड रुपैयाँ लगानी गर्नेछ । प्रत्येक वर्ष लगानी बढ्दै जाने अध्यक्ष बेगानीले बताए । ‘सुरुवाती संस्करणमा हाम्रो खर्च तीन करोड रुपैयाँबराबरी हुनेछ, त्यसपछि यसको लागत बढ्ने विश्वास छ,’ उनले भने । गत वर्ष एस्ट्रोनिक्स म्यानेजमेन्टले अखिल नेपाल कबड्डी संघसँग एकैपटक १० वर्षको सम्झौता गरेको थियो । सम्झौतासँगै एक्ट्रोनिक्सले प्रतियोगिता आयोजना गर्ने अधिकार आफ्नो स्वामित्वमा लियो । १८ माघसम्म चल्ने नेपाल कबड्डी लिगमा ६ सहरको स्वामित्व लिन टोली बिक्री गरेको बेगानीले बताए । ‘हामीले सबै टोली बिक्री गरेका छौँ,’ उनले भने, ‘मार्की र प्रशिक्षकले ड्राफ्टमा खेलाडी छनोट गरेका हुन् ।’ उनका अनुसार प्रत्येक टोलीले फ्रेन्चाइज शुल्क ३५ लाख आयोजकलाई बुझाएका छन् । गत वर्ष नै भारतको प्रो कबड्डीबाट प्राविधिक जनशक्ति ल्याएर नेपाल कबड्डी लिगमा सहभागी हुने खेलाडीलाई तयार पारेको हो । शुक्रबारदेखि सुरु हुने लिगका लागि खेलाडीलाई प्राविधिक निर्देशक, मेन्टर र ६ जना प्रशिक्षकले काठमाडौंको चमतीमा प्रशिक्षण दिइरहेका छन् ।
क्रिकेट, फुटबल र भलिबलपछि कबड्डीको अवधारणा
आयोजकका अध्यक्ष बेगानीले नेपालमा कबड्डी खेलको विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सम्भावना बोकेका कारण फ्रेन्चाइज लिगको अवधारणमा आएको बताए । ‘सबै खेलको मिश्रण कबड्डीमा पाइन्छ । हामीले नेपालको कबड्डीमा स्तरवृद्धि नगरे आकर्षण बढ्दैन,’ मंगलबार अन्तक्र्रिया कार्यक्रममा उनले भने, ‘एनकेएललाई स्तरीय बनाउन कुनै पनि सम्झौता नगरी लगानी गरेका छौँ । यसले नेपाली कबड्डीलाई व्यावसायिक बनाउनेछ ।’
क्रिकेट, फुटबल र भलिबलमा राम्रो भएजस्तै कबड्डीमा पनि एनकेएलले राम्रो पहिचान बनाउने बेगानीको विश्वास छ । विराटनगरबाट उदाएको व्यावसायिक समूह ‘बेगानी ग्रुप’को नेतृत्व गरिरहेका उनले पहिलो संस्करणमा लगानी फिर्ताभन्दा पनि खेलको विकासलाई जोड दिएको सुनाए ।