‘ओभरलोड’ कडाइ गर्न मन्त्री दाहालको निर्देशन

मंगलबार, १ माघ, २०८१
डिजिटल संस्करण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारीसाधनमा अधिक भारवहनलाई कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा नेपाल ट्रक यातायात व्यवसायी महासंघको ध्यानाकर्षण टोलीसँग भएको छलफलका उनले अधिक भारका कारण पूर्वाधारमा क्षति पुग्ने तथा दुर्घटनाको जोखिम पनि हुने भन्दै यातायात व्यवस्था विभागलाई अधिक भार बोकेका सवारी नियन्त्रण गर्न निर्देशन दिएका हुन् । 

हालै ७४ चक्के भारतीय ट्रकका कारण पूर्व–पश्चिम राजमार्गको दुम्कीबासमा पुल भाँचिएको छ । ‘ओभरलोडका गाडीले सडक, पुललगायतका संरचनामा जोखिम बढेको छ,’ उनले भने, ‘तर, यो संरचनामा क्षति पु¥याउने विषय मात्रै होइन, अधिक भारकै कारण हुने दुर्घटनाले मानवीय क्षतिको जोखिमसमेत बढाउने भएकाले यसलाई तुरुन्तै कडाइका साथ नियन्त्रण गर्नुहोला ।’

छलफलमा मन्त्रालयका सचिव केशवकुमार शर्माले क्षमता र मापदण्डभन्दा बढी भार बोकेको पाइए बढी भएको भार खन्याएर मात्र गाडी छुटाउनुपर्ने बताए । प्रहरी, प्रशासन तथा सम्बद्ध निकायहरूसँग समन्वय गरी ‘ओभरलोड’का सवारीसाधन सञ्चालन हुने क्रम तुरुन्त रोक्न विभागलाई निर्देशन दिए । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ लाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए । 

सुझावित समाचार